४ असार २०८३, बिहिबार

कामना सेवा विकास बैंकले ३ महिनामै कमायो साढे १७ करोड नाफा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । कामना सेवा विकास बैंक लिमिटेडको नाफामा उल्लेख्य वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको हो ।

चालु आवको असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा भने ४६.४० प्रतिशत बढी हो । गत आवको पहिलो त्रैमासमा पनि बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६७ प्रतिशत वृद्धि भई ५१ करोड ८७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा पनि बैंकको यस्तो आम्दानी ४९ करोड ९ लाख १० हजार रुपैयाँ मात्रै रहेको थियो ।

यता, बैंकको सञ्चालन नाफामा पनि ४२.५६ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकको यस्तो नाफा १८ करोड ९५ हजार रुपैयाँ मात्रै थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बैंकको यस्तो नाफा २५ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आएको बढोत्तरीले नै खुद नाफा उल्लेख्य सुधार देखिएको हो । बैंकको वितरणयोग्य नाफा पनि २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १९ रुपैयाँ ९४ पैसा छ । वितरणयोग्य इपिएस भने २३.९१ पैसा देखिएको छ । बैंकको खराब कर्जा ३.९६ प्रतिशत देखिन्छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन पनि २.८५ प्रतिशत वृद्धि भई ६० अर्ब ७५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ३.१० प्रतिशत वृद्धि भई ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने १ अर्ब ६९ कोड ३२ लाख २६ हजार रुपैयाँ राखेको छ ।