
झापा, ४ कात्तिक । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।
चालु आव २०८१/८२ मा कार्यालयले १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए ।
आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार रुपैयाँ सङ्कलन भएको थियो । यो रकमभन्दा चालु आवको पहिलो तीन महिनामा १९ करोड १७ लाख ४१ हजार रुपैयाँले बढी हो ।
आव २०८०/८१ मा १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा ९१ करोड ३२ लाख ४३ हजार रुपैयाँले राजस्वको लक्ष्य घटाइएको छ ।








प्रतिक्रिया