
काठमाडौं, २३ असोज । निर्देशक वसन्त निरौला भोलि फूलपातीको दिनबाट फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदै हुनुहुन्छ । फिल्म ‘विजयपथ’बाट निर्देशनमा पाइला चाल्नुभएका वसन्तले ‘ज्वाइँ साब’सम्म आइपुग्दा एक्सन, प्रेमकथा र राजनीतिकसँग जोडिएको फिल्मसमेत निर्देशन गर्नुभयो ।
‘पहिला मलाई एक्सन फिल्म मनपथ्र्यो । मैले जुन समयमा फिल्म निर्देशनमा डेब्यू गरेँ, त्यो समयमा एक्सनकै नेपाली फिल्महरु चलिरहेका थिए । त्यो समयमा निखिल उप्रेतीहरुको एक्सन फिल्म चल्थ्यो । अहिले पनि चल्छ । त्यो बेला फरक समय थियो ।’ उहाँ भन्नुहुन्छ, ‘अहिले चाहिँ कमेडीमा फरक केही गरौँ कि भन्ने सोचिरहेको थिएँ । हामीले झण्डै डेढ वर्षको योजना पछि यो फिल्म तयार पारेका हौँ ।’
वसन्तले फिल्मका लेखक सबिन अधिकारीले आफूलाई ‘ज्वाइँ साब’को कन्सेप्ट सुनाएपछि काम गर्न सहमत भएको खुलाउनुभयो । ‘लेखिरहने मान्छेसँग धेरै कन्सेप्ट हुन्छ । अरु कन्सेप्ट पनि आएको थियो । ज्वाइँ साबको कन्सेप्ट आएपछि मलाई यो फिल्म गर्न पाए जस्तो लाग्यो । ज्वाइँ साबमा कथा सामान्य छ, हामीले समाजमा देखिरहेको कथा नै हो ।’ उहाँ भन्नुहुन्छ ।
उहाँले फिल्मको स्क्रिप्टमा काम गरिरहँदा जितु नेपाल भन्दा पनि हाम्रो विषयलाई न्याय गर्न सक्ने एकजना कमेडी कलाकार खोजेको बताउनुभयो । उहाँले स्क्रिप्ट फाइनल भइसकेपछि मात्र जितु नेपाललाई भेटेर कथा सुनाएको र उहाँ सहमत भएपछि मात्र अन्य कलाकार चयनको काम अगाडि बढेको खुलाउनुभयो ।
वसन्तले फिल्मको कथाले दर्शक ‘कनेक्ट’ गर्नेमा आफूमा ढुक्क रहेको दाबी गर्नुभयो । ‘विवाह गर्दा बेहुलीलाई घरमा भित्र्याउन चलन छ । हामीले फिल्ममा बेहुलीको स्थानमा बेहुलालाई भित्र्याएका छौँ । केटा मान्छे विवाह गरेर अर्काको घरमा भित्र्दा के हुन्छ भनेर परिकल्पना गरेका हौँ । ‘ज्वाइँ साब’ महिला प्रधान फिल्म हो । त्यसकारण पनि फिल्म दर्शकमाझ प्रिय हुन्छ भन्नेमा ढुक्क छौँ ।’ उहाँले भन्नुभयो ।
उहाँले ‘ज्वाइँ साब’ पूर्णतया कमेडी मात्र नभई ‘इमोसनल’ फिल्म पनि भएको बताउनुभयो । ‘फिल्ममा एक समयसम्म कमेडी नै लगेका छौँ । कमेडीसँगै इमोसन पनि छ । ‘ज्वाइँ साब’मा जितु नेपालले निर्वाह गरेको गोबद्र्धन पण्डित पात्रमा बसेर जुनसुकै लिंगका दर्शकले हेर्यो भने त्यो फिल्म हरेक मान्छेलाई कनेक्ट गर्छ । दर्शकले मिठो विषयमा सामान्य कथा, गाउँघरको र समाजको कथा हेर्न पाउनुहुनेछ ।’ उहाँले भन्नुभयो ।
फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।








प्रतिक्रिया