
काठमाडौं, २३ असोज । आगामी मंसिर ७ गते रिलिज हुने फिल्म ‘अग्निदहन’को टिजर सार्वजनिक भएको छ ।
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्निदहन’को टिजर बुधबार सार्वजनिक गरिएको हो ।
एक मिनेट ११ सेकेण्डको टिजरमा महिलालाई बोक्सीको आरोप लगाएपछि बोक्सी भगाउन भन्दै धामी झाक्रीबाट दिइने यातनालाई प्राथमिकता दिइएको छ । एक अधवैशे महिलाको क्रियाकलापबाट एक बालिका त्रसित भएको दृश्य टिजरमा देख्न सकिन्छ । टिजरमा त्रसित बालिकालाई पनि उत्तिकै स्थान दिइएको छ ।
फिल्मका निर्देशक घनश्याम लामिछाने हुनुहुन्छ । मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रुपमा अभियानको रुपमा अगाडि बढाउन फिल्म निर्माण गरिएको उहाँले बताउनुभयो । फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ ।
फिल्ममा कोविदशरण उपाध्यायको परिकल्पना, लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, परिच्छेद सेनको पटकथा र मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ ।
यो फिल्म भारतको बिहारस्थित सीतामढीमा कमाण्डेन्ट अफ एसएसबी–२०औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा प्रदर्शन गरिएको थियो ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललेसमेत हेरिसक्नुभएको यो फिल्मलाई चलचित्र विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’समेत दिइसकेको छ ।









प्रतिक्रिया