३ श्रावण २०८३, आइतबार

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो)बीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंकका एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजका वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमकाबीच समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

दुई कम्पनीबीच भएको सम्झौताअनुसार नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्नेछन् । जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।

यस सेवाअन्तर्गत प्रयोगकर्ताहरूले न्यूनतम युुएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् ।

नबिल बैंककाअनुसार रेमिटेन्स प्राप्त कर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन् ।

नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो । ‘यो बैंकिङ सेवाको लागि एउटा कोशेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ ।’ नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक आदर्श बजगाईँले भन्नुभयो ।

यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नबिल बैंकले आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको थियो ।

स्मार्ट आइडियाज प्रालिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।