
बेल्जियम, २१ असोज । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरु’को बेल्जियममा विमोचन गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको विमोचन समारोहमा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतका अतिथिहरुले पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तक विमोचन गर्नुहुँदै राजदूत राजभण्डारीले विदेशमा बस्ने नेपालीहरुका अनुभवलाई देशका नीति निर्माताहरुले बुझ्न सकेमा देश विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । पुस्तक युरोपका नेपालीहरुको दस्तावेजको रुपमा रहने भएकाले पनि इतिहास बन्ने उहाँको धारणा रहेको थियो ।
पुस्तकमार्फत विदेशमा रहने नेपालीहरुको प्रतिनिधि भोगाइ अनि सत्य कथाबाट युवा पुस्तालाई सकारात्मक उर्जा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । राजदूत राजभण्डारीले प्रवास बसाइका अनुभव, संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, संस्कृति र नेपाली मौलिक पहिचानलाई उनीहरुले कसरी विश्वसामु फैलाई रहेका छन् भन्ने विषय लिपिबद्ध गरी पुस्तक प्रकाशन गरेकोमा लेखक गौतमलाई धन्यवादसहित शुभकामना व्यक्त गर्नुभयो ।
प्रवासका फूलहरु बारे बोल्नु हुँदै लेखक गौतमले मुलुक बाहिर रहेका मुलुकका असल छोराछोरीका जीवन्त कथा लेखिएको बताउनुभयो । करिब डेढ वर्षको अन्तरालमा पुस्तक तयार गरेर विदेशी भूमिमा विमोचन गर्ने अवसर पाएकोमा अनेसासप्रति उहाँले आभार व्यक्त गर्नुभयो । पुस्तकमा युरोपमा रहेका ३९ जना नेपालीहरुको बाल्यकाल, शैक्षिक अवस्था, राजनीति ,परिवारिक अवस्था, वैदेशिक संघर्षलगायतका वास्तविक कथा समावेश गरिएको उहाँले बताउनुभयो ।
यस्तै, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले विदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतीका बीचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने र यसको प्रचार प्रसारका लागि लेखक गौतमले उदाहरणीय काम गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैका आ-आफ्नै भोगाई हुन्छन्, ति कुराहरुलाई आफ्नो पुस्तासामु जानकारी दिलाउन पुस्तकले भूमिका खेल्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविष्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु संकलन गरेकोमा पत्रकार गौतमप्रति आभार प्रकट गर्नुभयो । आफ्नो जन्मभूमि छोडेर फरक भूगोल संस्कार र संस्कृतिमा आफूलाई स्थापित गर्न नेपालीहरुले युरोपमा गरेका संघर्षका कथाहरु प्रेरणादायी बन्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष डिल्ली अंमाईले पुस्तकमाथि टिप्पणी गर्दै यसले युरोप भित्रका अधिकतम देशका विभिन्न पेशा वा सेवामा कार्यरत नेपाली प्रतिनिधिहरुसँग प्रत्यक्ष सम्वाद गरेर पुस्तक प्रकाशन गरेकोमा पत्रकार गौतमलाई धन्यवाद दिनुभयो । पुस्तक अभिलेखका रुपमा रहने भएकाले यसको महत्व उच्च्तम हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा अनेसास बेल्जियमका महासचिव गोपाल दाहालले पुस्तकमाथि टिप्पणी गर्दै निकै संघर्ष गरेर तयार गरिएको पुस्तकले आम नेपालीको कथा बोल्ने बताउनुभयो । दुई सय अठासी पेज रहेको पुस्तकको टिप्पणी गर्दै दाहालले अन्तर्वातामा आधारित भएर पुस्तक प्रकाशन भएको बताउनुभयो ।
यस्तै, अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले प्रवासका नेपालीहरुको संघर्षको अन्तरकथा तयार पारी विमोचनका लागि अनेसासलाई अवसर दिनुभएकोमा धन्यवाद दिनुभयो । युरोपमा नेपालीहरुका दिब्य आशा, उन्मुक्त मनोभाव, उत्तेजना, सफलता-असफलताका कथा र संकल्पहरु समावेश गरिएको प्रवासका फूलहरु पुस्तक कलात्मक कृतिका रुपमा रहने बताउनुभयो ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मदन दवाडी, हरि भट्टराई, उपाध्यक्ष कासी दनै, ओेएनएफ बेल्जियमका अध्यक्ष विनोद न्यौपाने, जन सम्पर्क समिति बेल्जियमका उपसभापती विराट जोशीलगायतले कृति सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
पुस्तकमा लेखक संघ केन्द्रीय सदस्य हयगृव आचार्यको भाषा सम्पादन, कवि लेखक सम्प्रस पौडेलको कथा सम्पादन, श्रीराम दहाल र बिना देवकोटाको श्रुति लेखन रहेको छ भने पुस्तकको प्रकाशन, लेआउट डिजाइन आकृति कृयसन राम अविकास र वितरकमा किताब घर हेटौंडाका छवि अनित्यको रहेको छ ।








प्रतिक्रिया