२१ असार २०८३, आइतबार

वृत्तचित्र ‘के तपाईंले मेरो देवता देख्नुभयो ?’को पहिलो प्रदर्शन सम्पन्न

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असोज । नेपालका हराएका देवताका मूर्तिहरूको बारेमा निर्देशक अमिताभ जोशीद्वारा निर्देशित वृत्तचित्र ‘के तपाईंले मेरो देवता देख्नुभयो ?’ (ह्याभ यू सिन माई गड्स ?)को पहिलो प्रदर्शन बुधबार ठमेल काठमाडौंस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमामा भएको छ । प्रदर्शनमा अमेरिकी, अष्ट्रेलियाली, युरोपेली संघ, मलेसियाली र बेलायती राजदूतावासका कूटनीतिज्ञहरू लगायत विभिन्न संघसंस्थाका विशिष्ट व्यक्तिहरू गरी १३० जनाको सहभागिता रहेको थियो ।

वृत्तचित्रले नेपालबाट विभिन्न समयमा चोरी भई विदेश लगिएका र अनुसन्धानपश्चात प्राप्त भएका देवताका मूर्तिहरूलाई नेपाल फर्काउने पहल र त्यसको सांस्कृतिक महत्वको बारेमा सनसनीपूर्ण तथ्य उजागर गरेको छ । यो वृत्तचित्र अझै पूर्ण रूपमा निर्माण हुन बाँकी नै छ । यो वृत्तचित्र केवल एउटा वृत्तचित्र मात्र नभई नेपालका हराएका चोरिएका मूर्तिहरूलाई नेपालमा फिर्ता ल्याउने अभियानको सुरुवाती चरण भएको र खोज तथा अनुसन्धानको निरन्तरता आवश्यक भएको निर्देशक जोशीले बताउनुभएको छ ।

वृत्तचित्रको बारेमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित र अलिसा सिजापती, कलाकार लेखक लैनसिंह बाङ्देल, जुगल सिक र जोय डेभिसले नेपालका सांस्कृतिक सम्पदाहरू स्वदेश फिर्ता ल्याई संग्रहालयमा राख्न गरिएका प्रयासहरूमध्ये सबैभन्दा सराहनीय प्रयास यो वृत्तचित्र भएको र यसले उक्त कार्यमा सहयोग पुर्‍याउनमा कोसेढुंगाको काम गर्नेसमेत बताउनुभएको थियो ।

वृत्तचित्र प्रदर्शनको प्रायोजन दया फाउण्डेसन, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल कला परिषद्ले गरेको हो भने कार्यक्रमको संयोजन दया फाउण्डेसनकी पूर्वअध्यक्ष एवं कल्चर विभागका प्रमुख निभा माथेमा प्रधानले गर्नुभएको हो ।

वृत्तचित्र प्रदर्शनपछि प्रधानले दर्शकदीर्घा एवं निर्मातासँग प्रश्नोत्तर सत्रद्वारा वृत्तचित्रको औचित्यताबारे थप प्रकाश पार्नुभयो । सांस्कृतिक सम्पदाको महत्व र त्यसलाई पुनःप्राप्तिको प्रयासलाई उजागर गर्न वृत्तचित्रले सन् १९८४ मा पाटनको लक्ष्मी–नारायणको चोरी भएको मूर्तिलाई सन् २०२१ मा फिर्ता ल्याई पुनः स्थापित गरिएको घटनालाई रोचक ढंगले प्रस्तुत गरेको छ ।