
काठमाडौं, १२ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण अवरुद्ध यातायात जति सक्दो चाँडो सहज बनाउन निर्देशन दिनु भएको छ । सम्वद्ध निकायहरुबीच समन्वय गरी सडक तथा यातायात क्षेत्र सहज बनाउन उहाँले निर्देशन दिनु भएको हो ।
अबिरल वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न राजमार्गमा क्षति पुर्याउनुका साथै कतिपय पुल समेत बगाएपछि उत्पन्न परिस्थितिलाई ध्यान दिई सडक मर्मत तथा व्यवस्थापनमा जुट्न उहाँले निर्देशन दिनुभयो ।
मौषमी प्रतिकुलताका कारण उत्पन्न भएको परिस्थितिमा सबै पक्षले सहकार्य र समन्वय गरी सहज स्थिति निर्माणमा जुट्नु पर्नेमा उहाँले जोड दिनुभयो । यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले देशैभर बाढी तथा पहिरोले क्षति गरेका स्थानको सडक यातायात सहज बनाउन सडक विभाग मार्फत उपकरण तथा जनशक्ति परिचालन गरिएको जानकारी दिनु भएको छ । पहिरो पन्छाई सडक सुचारु गर्न सकिने स्थानमा तुरुन्तै आवागमन सहज बनाउन मन्त्रालय तथा विभाग परिचालित भएको उहाँले जनाउनु भयो ।
यसैबीच अबिरल वर्षा र बाढीका कारण २३ राजमार्गका ६४ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुशिलबाबु ढकालले विज्ञप्ति जारी गर्दै राजमार्गका ति खण्डमा पहिरो जानुका साथै अवरुद्ध भएका विभिन्न खण्डमा सडक खुलाउने प्रयास जारी रहेको बताउनुभयो ।
मुग्लिन–पोखरा सडकखण्ड तथा मलेखु मुग्लिन नारायढघाट सडक खण्डका पहिरो पन्छाई सडक सुचारु अवस्थामा राखिएको विज्ञप्तिमा उल्लेख छ ।








प्रतिक्रिया