३१ असार २०८३, बुधबार

चलचित्र ‘झिल्को’को प्रदर्शन मिति तय

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । ‘झोला’ फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को: द स्पार्कु’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने बताउनुभयो । पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिनुभएको छ । मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ । पोस्टर डिजाइन आइडियलले गरेको हो ।

‘झिल्को’को फस्टलुक सार्वजनिक गर्दै निर्देशक भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘चलचित्र झोला र भोर पछिको हाम्रो तेस्रो चलचित्र झिल्को : द स्पार्क आगामी पुस ५ गतेबाट देशभरि प्रदर्शन हुँदैछ । चलचित्र झिल्को आजको कथा हो । आजको समाज डिजिटल समाजका रुपमा निर्माण भैसकेको छ । डिजिटल युगमा प्रवेश गरिरहेका र बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँरु ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छरु आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुव्र्यसनी डिजिटल दुर्व्यसनी हो । यही संवेदनशील विषय झिल्कोको कथा हो । आजको दिनमा सबैभन्दा ठूलो कुलत मोबाइल ग्याजेट हुन, जसको कुलतमा फसेर एउटा परिवारले कति संघर्ष गर्नुपर्छ भन्ने सामाजिक व्यवसायिक चलचित्र बनाउने प्रयास हामीले गरेका छौँ । प्रविधि हाम्रो युगको सबैभन्दा महानतम् आविष्कार हो । तर यो आगो जस्तै हो । प्रयोग गर्न जाने चुल्हो बल्छ, नजाने डढेलो जसरी सल्किएर सबै तहसनहस पार्नसक्छ । फिल्ममा हामीले यही भन्ने प्रयास गरेका छौँ । सामाजिक विषयमाथिको यथार्थ फिल्म निर्माण गर्नु आफैँमा अत्यन्त चुनौतीपूर्ण कार्य हो । यसमा आर्थिकदेखि विभिन्न कठिनाइहरू सामना गर्नुपर्ने बाध्यता हामीले पनि बेहोर्यौ । तर पनि सामाजिक उत्तरदायित्वको रुपमा हामीले यो चलचित्र निर्माण गर्ने साहस गरेका हौँ । यहाँहरूको सहयोग रहनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।’

सती प्रथाको कथामा झोला फिल्म निर्माण गर्नुभएको भट्टराईले झोलापछि सन् २०१९ दाइजो विरोधी चलचित्र भोर सार्वजनिक गर्नुभएको थियो ।

‘झिल्को’को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पार्नुभएको हो । फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले दीपक शर्माको संगीत रहेको छ । निमेश श्रेष्ठले सम्पादन गरेको फिल्मका निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुनुहुन्छ भने कार्यकारी निर्माता उमेश पौडेल रहनुभएको छ ।

जनता प्रशारण तथा प्रकाशन प्रालिको निर्माण सहयोग रहेको फिल्मको मुख्य सहायक निर्देशन आकाश उखेडा र सहायक निर्देशक अनिश बुढाथोकीले गर्नुभएको हो । फिल्ममा आनन्द अधिकारीको गीत र शिव परियार तथा निशा देशारको स्वर रहेको छ ।

दिलिप पन्त निर्माण नियन्त्रक, सहसम्पादन नारायण गैरे, मुख्य सहायक छायांकन विवेक लामा रहनुभएको छ । फिल्मको नेपाल वितरक डीएसएन र अमेरिका तथा क्यानडा वितरणको जिम्मा इपिक इन्टरटेन्मेन्टलाई दिइएको निर्माण टिमले जनाएको छ ।