
विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ ।
आज विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक विशेष कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वर्ष २०८२ साललाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ मनाउने घोषणा गर्दै कोशी प्रदेशलाई नेपाल र विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘कोशी प्रदेश पर्यटनको हिसाबले नेपालको मात्रै नभई विश्वकै उत्कृष्ट गन्तव्य हो । नेपालको सबैभन्दा होचो भू-भाग झापाको केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म यहीँ छ ।’
उहाँले प्रदेशमा रहेका विश्व प्रसिद्ध पर्यटकीय आकर्षणहरू सगरमाथा, मकालु, कञ्चनजंघा हिमाल, विभिन्न राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रहरू र धार्मिक स्थलहरूको महत्व उजागर गर्दै प्याराग्लाइडिङ, र्याफ्टिङ जस्ता साहसिक खेल पर्यटनको विकासमा जोड दिइने बताउनुभयो ।
‘नेपालको सबैभन्दा होचो भू-भाग झापाको केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा रहनुले पर्यटकीय विकास र सम्भावनामा हामी भाग्यमानी छौँ । पर्यटकलाई आफूतिर आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथासहित मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल कोशी प्रदेशमा पर्छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहीँ छन् । प्राकृतिक मात्र नभई धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना पनि कोशी प्रदेशमा छ । पाथिभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुर गढी, हिलिहांग, हतुवागढ़ी, विराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुंग पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधतालाई उजागर गरेको छ । यसैको जगमा उभिएर हामीले हाम्रो पर्यटनलाई प्रर्वद्धन गर्न सक्दछौँ ।’ मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्छ । पोकली झरना, ह्याथ्रुंग झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे मिल्केजलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय क्षेत्र गन्तव्य हुन् । प्याराग्लाइडिङ तथा तमोर तथा कोशी र्याफ्टिङ जस्ता सहासिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधारलाई बलियो बनाएको छ । चियाको राजधानी भनेर चिनिने इलामको सन्दकपुर, कन्याम, माइपोखरी पूर्वी नाकाबाट नेपाल छिर्नेहरुलाई स्वागत गरिरहेको दृष्य हामीले देखिरहेका छौँ । विश्वमै दुर्लभ रेडपान्डा, अर्ना लगायत जैविक विविधतायुक्त पर्यटकका लागि आर्कषणको केन्द्र बन्न सक्छ । एकै स्थानमा २८ प्रजातिका गुराँस फुल्ने टिएमजे क्षेत्रमा गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ । हामीले यही समयलाई मध्यनजर गरेर पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी गरेको यहाँहरुलाई जानकारी गराउन चाहन्छु । हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत हामीले गुणस्तरीय पर्यटकहरुलाई भित्र्याउन सक्छौँ ।’ पर्यटन वर्षको सफल कार्यान्वयनका लागि सरकारले निजी क्षेत्र र सरोकारवालाहरूसँग सहकार्य गर्ने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘पर्यटन क्षेत्रको विकास र विस्तार सरकार एक्लैले गर्न सक्दैन । यसका लागि निजी क्षेत्र, पर्यटन व्यवसायी र सरोकारवालाहरूको साथ, सहयोग र सहकार्य आवश्यक छ ।’
मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रको विकासबाट रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पर्यटनको माध्यमबाट रोजगारी सृजना गर्दै युवाहरूको विदेश पलायन रोक्न सकिन्छ ।’
‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अन्तर्गत प्रदेश सरकारले पर्यटन सम्बन्धी नीति निर्माण, संरचनाहरूको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार तयार गर्ने लक्ष्य राखेको छ । ‘यसका लागि तीनै तहकै सरकार, पर्यटन क्षेत्र, निजी क्षेत्र तथा सम्पूर्ण सरोकारवाला हरुको सहभागिता र पहलकदमीमा भव्य रुपमा सम्पन्न हुने विश्वास लिएको छु ।’ मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
















प्रतिक्रिया