२९ असार २०८३, सोमबार

सुदूरपश्चिम विश्वविद्यालयको मुख्य सन्दर्भ सामग्री बन्यो पूर्वमुख्यमन्त्री रावलको पुस्तक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ११ असोज । सुदूरपश्चिम विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले पूर्वमुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलद्धारा लिखित ‘डोटी राज्यको मध्यकालीन इतिहास’ (सक १२३५–१७१२) पुस्तकलाई मुख्य सन्दर्भ सामाग्रीको रुपमा समेटने निर्णय गरेको छ ।

स्नातक तहको चौथो सेमेस्टर र स्नातकोत्तर तहका विद्यार्थीले अब त्यस पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न सक्नेछन् । मानविकी तथा सामाजिकशास्त्र संकायका डिन डा. मुकुन्द कलौनीकाअनुसार स्नातक तहको चौथो सेमेस्टरमा ‘सुदूरपश्चिमको अध्ययन’ विषयका लागि पुस्तकलाई सन्दर्भ सामाग्रीको रुपमा राखिएको छ ।

यस्तै, स्नातकोत्तरको ‘सुदूरपश्चिमको विकासका आयाम र चुनौती’ विषयको सन्दर्भ सामाग्रीको रुपमा पनि पुस्तकलाई समेटिएको हो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहनुभएका रावलको अंग्रेजी भाषामा लेखिएको ‘डोटी राज्यको मध्यकालीन इतिहास’ पुस्तक निकै चर्चित छ । त्यसको नेपाली भर्सनसमेत प्रकाशनको तयारीमा रहेको उहाँले बताउनुभयो । यो पुस्तक छिमेकी भारतको उत्तराखण्डका इतिहासकार तथा संस्कृतिकर्मीका माझमा पनि लोकप्रिय छ ।

यस्तै, रावलको ‘द इकोज पावर अफ प्यासन’ कविता संग्रह प्रकाशित भएको छ । उहाँले सयौंको संख्यामा विभिन्न जर्नलहरुमा लेख प्रकाशित गराइसक्नुभएको छ । केही कृति प्रकाशनको तयारीमा रहेको उहाँले जानकारी दिनुभयो ।

राजनीति र साहित्यमा समानान्तर ढंगले सक्रिय रावललाई २९ भदौमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले अभिनन्दन गर्नुभएको थियो । सुदूरपश्चिम र कर्णालीको भाषा, साहित्य तथा इतिहासका क्षेत्रमा रावलले पुर्‍याएको योगदानको कदर गर्दै त्यसबेला अभिनन्दन गरिएको थियो ।