६ असार २०८३, शनिबार

राजेश हमालको कमब्याक फिल्म नरसिंहाः अवतारको शुभ मुहूर्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप गर्नुभएको थियो । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सनसँगै सुटिङ सुरु गरिएको हो ।

शुभ मुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठलगायतको उपस्थिति थियो।

निर्देशक भट्टराईले यो फिल्म आफ्नो लागि निकै च्यालेन्जिङ रहेको बताउँदै भन्नुभयो, ‘यो फिल्म मेरो लागि निकै च्यालेन्ज छ । राजेश दाइले धेरै स्क्रिप्टहरु नगरेर मेरो स्क्रिप्ट गर्नु नै मेरो लागि च्यालेन्ज हो । किनकी राजेश दाइलाई कन्भेन्स गर्नलाई नै मलाई ३ महिना लागेको थियो ।’

निर्माता महर्जनले यो फिल्म फरक तरिकाले निर्माण हुने भएकाले आफू यो फिल्मको निर्माणमा जोडिएको बताउनुभयो ।

त्यस्तै, महानायक राजेश हमालले यो फिल्मको स्टोरी आफूले सोचेकोभन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः फिल्ममा फर्किएको बताउनुभयो ।

फिल्मका नायक राज कटुवालले आफूले सानै बेलादेखि नै राजेश हमालको पोस्टरहरु कलेक्सन गर्दै आएको र अहिले आएर उहाँसँगै फिल्ममा खेल्न पाउँदा आफू निकै उत्साहित रहेको बताउनुभयो । फिल्मकी अभिनेत्री नीति शाहले आफूलाई निकै च्यालेन्ज भएको र यो फिल्ममा राजेश हमाल भएको कारण पनि आफू यो फिल्मको टिमसँग जोडिएको बताउँदै भन्नुभयो, ‘मलाई राजेश हमालले पहिल्यैदेखि नै फिल्म खेल खेल भन्नुहुन्थ्यो, अहिले आएर उहाँसँगै काम गर्न पाउँदा एकदमै खुशी लागेको छ ।’

फिल्मकी अर्की नायिका सनिशा भट्टराईले भन्नुभयो, ‘मेरो बुवा उहाँको फ्यान भएको कारण मैले पनि उहाँको फिल्म बच्दैदेखि हेर्दै आएको थिएँ । अहिले उहाँसँग एउटै फिल्ममा काम गर्न पाउँदा उत्साहित छु ।’

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरेको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह,रमेस चन्द सोडारी, प्रकाश कुँवरलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो फिल्मबाट ८ वर्षपछि महानायक हमालको कमब्याक हुँदैछ । उहाँले यो फिल्मको लागि केही समयदेखि आफ्नो गज्जबको लुक्स बनाइरहनुभएको छ । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्म क्षेत्र तातिएको छ भने हमाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित हुनुहुन्छ ।

त्यस्तै, अभिनेता सरोज खनाल र महानायक हमाल ३० वर्षपछि एकसाथ फिल्ममा काम गर्दै हुनुहुन्छ । उहाँहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गर्नुभएको थियो ।

क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो फिल्मका द्वन्द निर्देशक चन्द्र पन्त हुनुहुन्छ । यो फिल्मलाई निर्माता नरेन्द्र महर्जन, पशुराम बस्नेत र धुर्व न्यौपानेले सयुक्त रुपमा निर्माण गर्दै हुनुहुन्छ । यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, एफडी कम्पनी र रिच इन्टरटेन्मेन्टले सयुक्त रुपमा वितरण गर्नेछ ।