
रामेछाप, १० असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले देश गम्भीर संकटको अवस्थामा पुगेको कारण एमालेले सरकारको नेतृत्व गर्ने गरी हस्तक्षेप गरेको बताउनुभएको छ ।
आज नेकपा एमाले रामेछापको तेस्रो पूर्णबैठकलाई मन्थलीमा सम्बोधन गर्दै भट्टराईले कांग्रेसँग सहकार्य गरेर बनाएको वर्तमान सरकारका केही सीमा र अवसर रहेको बताउनुभयो । ‘लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र हो भन्ने सन्देश लिएर हामी सरकारमा गएका छौँ, यो सन्देश गएको छ’, भट्टराईले भन्नुभयो । नयाँ सरकार बनेपछि व्यावसायिक क्षेत्रमा केही उत्साह बढेको भट्टराईले बताउनुभयो । ‘यिनै सकारात्मक सङ्केतद्वारा बढ्दो निराशालाई चिरे अघि बढ्नु पर्छ’, भट्टराईले भन्नुभयो ।

संविधान निर्माण र संशोधन राजनीतिक शक्ति सन्तुलनको आधारमा बन्ने बताउनुहुँदै उहाँले शक्ति सन्तुलनमा परिवर्तन हुँदै जाँदा संविधानको संशोधन हुने उहाँले बताउनुभयो । संविधानका आधारभूत विषयलाई असर नपर्ने गरी संविधान संशोधन हुने उहाँले स्पष्ट पार्नुभयो । ‘हामी संविधानका आधारभूत पक्षलाई संशोधन गर्नेवाला छैनौँ, कुनै भ्रममा नपरे हुन्छ’, भट्टराईले भन्नुभयो ।
अहिले प्रचार गरिएजस्तो समावेशी चरित्रमा असर गर्ने गरी संविधान संशोधन नहुने बताउनुहुँदै उहाँले अहिलेको संविधानमा रहेको निर्वाचन प्रणालीबाट कुनै एक पार्टीको बहुमत आउने कुरा असम्भव प्राय रहेको बताउँदै उहाँले समावेशी चरित्रलाई नखलबल्याउने गरी संविधान संशोधनका विषय अघि बढाइने बताउनुभयो । यो विषय पनि खुल्ला छलफलबाट टुङ्गोमा पुर्याइने विषय भएको उहाँले स्पष्ट पार्नुभयो ।
उटपट्याङ कुरा गर्ने र त्यसको पछि जनमत दौडनाले कुरा निक्कै संवेदनशीले भएको उहाँको धारणा छ ।
आफ्नो कम्पनीमा कति पैसा कहाँबाट आयो भन्ने कुरा थाहा छैन भनेर एउटा कम्पनीको प्रबन्ध निर्देशकले दिउँसै रात पार्ने कुरा गरेका उहाँले टिप्पणी गर्नुभयो । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई संसदीय समितिले कारबाहीको लागि सिफारिस गरिसकेकोले उहाँमाथि कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो । ‘कानुन अनुसार उसलाई कारबाही हुन्छ, त्यो प्रक्रिया अघि बढेको छ’, भट्टराईले भन्नुभयो ।
भट्टराईले अहिले विश्व परिस्थिति पनि निक्कै जटिल बन्दै गएको धारणा राख्नुभयो । अन्तर्राष्ट्रिय परिस्थिति हिजोभन्दा आज अझ बिग्रँदै गएको बताउनुहुँदै उहाँले हिजो सहकार्य गरेका शक्तिहरू समेत आज युद्धमा रहेका उदाहरण प्रस्तुत गर्नुभयो । नेपाल दुई उदयमान मुलुकका बिचमा रहेकोले नेपालको स्थिति निक्कै संवेदनशील रहेकाले यसकै परिणाम आज नेपालमा सामाजिक अराजकता र अस्थिरता देखिन लागेको उहाँले विश्लेषण गर्नुभयो ।

एउटा व्यक्तिको मुर्ख्याइँको कारण युक्रेन युद्धमा होमिएको उहाँले बताउनुभयो । नेपालमा पनि त्यस्तै अराजक र गैरजिम्मेवार मानिसलाई निर्वाचित गराउन सकिन्छ कि भनेर त्यस्ता शक्तिले विभिन्न खालका पात्रहरू खडा गर्ने काम भएको उहाँले टिप्पणी गर्नुभयो । मुलुकको स्वतन्त्रताको लागि र मुलुकको रक्षका लागि एमालेलाई बलियो शक्ति बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘आज नेपालका हरेक क्षेत्रमा आक्रमणको प्रयास भइरहेको छ, त्यसैले एमालेको पङ्ति सचेत हुन जरुरी छ’, भट्टराईले भन्नुभयो ।
नेकपा एमालेलाई २१ औँ शताब्दीको विश्वको प्रतिस्पर्धी पार्टीको रूपमा उभ्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । नेपालको सन्दर्भमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने जनताको बहुदलीय जनवाद सफल विचार हो भन्ने कुरा स्थापित भएको उहाँले बताउनुभयो । त्यसैले कतिपय एमालेको विचारलाई छि छि र दुरदुर गर्नेहरू एमालेमा आएका र एमालेमा नआएका पनि एमालेले लिएकै विचारबाट अघि बढेका भट्टराईले स्पष्ट पार्नुभयो ।
सामाजिक सञ्जाल र समाचारको पछाडि दौडिएर पार्टी नबन्ने बताउनुहुँदै उहाँले विचार र नीतिमा स्पष्ट नभएकाहरूले आजको चुनौतीको सामना गर्न नसक्ने धारणा राख्नुभयो ।








प्रतिक्रिया