२४ असार २०८३, बुधबार

गृहजिल्लामा एमालेलाई बलियो बनाउँदै मुख्यमन्त्री, एकैदिनमा १७३ नेता एमालेमा समाहित

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य चेतनारायण आचार्यले आफ्नो गृहजिल्ला अर्घाखाँचीमा एमालेलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने प्रयास गरिरहनुभएको छ ।

मुख्यमन्त्री आचार्यले बुधबार एकैदिनमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेसलगायतका १७३ जना नेता तथा कार्यकर्ताहरूलाई एमालेमा समाहित गराउन सफल हुनुभएको हो ।

कार्यक्रममा माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य, लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा मालारानी गाउँपालिका अध्यक्ष पदम क्षेत्री, प्रदेश सदस्य तथा भूमिकास्थान नगरपालिकाका अध्यक्ष नरेन्द्रमान मुखिया, जिल्ला सचिवालय सदस्य देवबहादुर विक, राष्ट्रिय जनमोर्चा युवक संघका पूर्व केन्द्रीय उपाध्यक्ष, जिल्ला सचिवालय सदस्य कविराम खनाल, देउराली यातायात समितका अध्यक्ष गोविन्द्र बजान्डेलगायत १७३ जना एमालेमा प्रवेश गर्नुभएको हो ।

एमाले प्रवेश गर्नुहुँदै कविराम खनालले आफूलगायत आफूसँग प्रवेश गरेका साथीहरु एमालेमा निरन्तर रहिरहने र एमालेमा कसैको भाग खोस्न प्रवेश नगरेको बताउनुभयो । उहाँले आफू स्वाभिमानका साथ एमालेमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरी, माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नुभएका पदम क्षेत्रीले आफू एमाले पार्टीमा प्रवेश हुनु पाउँदा खुशी रहेको र अब यहाँ बसेर नै पार्टीका काम गर्ने बताउनुभयो ।

उहाँहरुलाई पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री आचार्यले कम्युनिष्ट आन्दोलनको केन्द्र एमाले भएको स्पष्ट पार्नुभयो । उहाँले अन्य दलमा रहनुभएका कम्युनिष्ट नेता कार्यकर्ताहरुलाई पनि एमालेमा समाहित हुन आह्वान गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले जिल्लाको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । उहाँले संघ र प्रदेशमा एमालेले शतप्रतिशत जित हासिल गरेको स्मरण गर्दै आगामी निर्वाचनमा पनि यस्तै नतिजा ल्याउन यो पार्टी प्रवेश महत्त्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बोमबहादुर विक, जिल्ला अध्यक्ष पिताम्वर भुसाल, उपाध्यक्ष शम्भु पोख्रेल, सचिव तोजबहादुर रायमाझीले पार्टीमा समाहित हुने सबैलाई उचित जिम्मेवारी प्रदान गरिने प्रतिवद्वता व्यक्त गर्नुभयो ।