
ललितपुर, ९ असोज । ललितपुर उद्योग वाणिज्य संघले नेपालकै ठूलो पस्मिना निर्यातकर्ता कम्पनी ट्राईकोटलाई ‘एक्स्पोर्ट एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । बुनाई कपडा निर्यात गर्नेमा नेपालकै पहिलो स्थानमा परेकाले ट्राइकोटलाई सम्मानित गरिएको संघले जनाएको छ ।
ट्राइकोट बुनाईका कपडा निर्यात गर्ने नेपालकै सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीले ‘वुलन र कटन’को धागोबाट निर्माण हुने पश्मिना स्वेटर, सल, टोपी, मोजा जस्ता पुरुष तथा महिला दुवैका लागि कपडा बनाएर निर्यात गर्दै आएको छ ।

करिब २५ वर्षअघि चीन, भारत र नेपालकै व्यवसायीसंगको सामुहिक लगानीमा खुलेपनि २०६२ सालदेखि गोल्यान ग्रुपको एकल स्वामित्वमा सञ्चालनमा आएको यस कम्पनीले युरोपमा सबैभन्दा बढी आफ्ना उत्पादन निर्यात गर्दै आएको छ भने अमेरिका र भारतमा पनि निर्यात गर्दै आएको छ ।
पछिल्लो पाँच वर्षमा ट्राइकोटले १ अर्ब ९४ करोड रुपैयाँ बराबरको निर्यात गरेर नेपालको विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुर्याउँदै आएको छ भने नेपाली बजारमा करिब १७ करोड रुपैयाँ बराबरको कपडा बिक्री गरेर उच्च गुणस्तरको बुनाई कपडाको माग पूरा गरेको छ । आफ्ना उत्पादनहरु विश्वमा नाम चलेका कुजतेन, फिंच ह्याटेंन, माला अलिशा, मिन्निरोज, रेमोण्ड जस्ता विश्वका चर्चित ब्राण्डहरुलाई बिक्री गर्दै आएको ट्राइकोटका प्रबन्ध निर्देशक शक्ति गोल्यानले बताउनुभयो। ‘हामीले अहिले विश्वका नाम चलेका चर्चित ब्राण्डका कम्पनीहरुलाई आफ्ना उत्पादनहरु निर्यात गर्दै आएका छौँ ।’ उहाँले भन्नुभयो, ‘इस्कच र बोसलिना ब्राण्डका कपडाहरु निर्यात गर्दै आएपनि यसको औपचारिक घोषणा गरेका छैनौँ ।’
विराटनगरमा उद्योग रहेको ट्राइकोटमा हाल ३५० प्लस कर्मचारीले प्रत्यक्षरुपमा काम गर्छन् । जसमा ७० प्रतिशत भन्दा बढी महिला कर्मचारी रहेका छन् ।








प्रतिक्रिया