
काठमाडौं, ४ असोज । इजरायल र लेबनानस्थित हिजबुल्लाह समूहबीचको तनाव चरम अवस्थामा पुगेको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलविरुद्ध कडा कारबाहीको चेतावनी दिएको केही घण्टापछि इजरायलले लेबनानमा भीषण बमबारी गरेको छ ।
गत मंगलबार र बुधबार लेबनान र सिरिया केही स्थानमा हिजबुल्लाह समूहका सदस्यहरूले बोकेका हजारौं पेजर र वाकीटकीहरू एकैपटक विस्फोट भएको थियो । मंगलबारको घटनामा कम्तीमा १२ जनाको मृत्यु र करिब ३,००० घाइते भएका थिए भने बुधबारको घटनामा कम्तीमा २० जनाको मृत्यु र ४०० भन्दा बढी घाइते भएका थिए । यी विस्फोटहरूले मृतकहरूको अन्तिम संस्कारसमेत प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिलेसम्म यी विस्फोटहरुको जिम्मेवारी कसैले पनि लिएको छैन । तर हिजबुल्लाहले इजरायललाई दोष लगाउँदै यसको बदला लिने बताएको छ ।
यता, लेबनानले संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई पत्र लेखेर इजरायलले विस्फोटक पदार्थ हालेको आरोप लगाएको छ । तर इजरायलले यस बारेमा आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
हिजबुल्लाहका नेता नसरल्लाहले बुधबार यी आक्रमणहरूलाई युद्धको संज्ञा दिँदै कडा जवाफ दिने चेतावनी दिनुभयो । उहाँले गाजामा इजरायली हमला नरोकिएसम्म आफ्नो आक्रमण जारी राख्ने बताउनुभएको छ । नसरल्लाहको भाषण प्रसारण भइरहँदा इजरायली लडाकु विमानहरू लेबनानको आकाशमा उडिरहेका थिए ।
बिहीबार राति नै इजरायलले लेबनानमा भीषण बमबारी गर्यो । लेबनानी सरकारी मिडियाकाअनुसार ५२ स्थानमा आक्रमण भएको छ भने इजरायलले हिजबुल्लाहका करिब १०० रकेट लन्चर र अन्य ठाउँहरुमा आक्रमण गरेको दाबी गरेको छ ।
यी घटनाहरूले इजरायल र हमासबीच सम्भावित युद्ध विरामको आशालाई कमजोर बनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको मध्यस्थता प्रयासहरू निष्प्रभावी भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
इजरायलले लेबनान सीमामा ठूलो संख्यामा सैनिक तैनाथ गरेको छ, जसले युद्धको केन्द्रबिन्दु गाजाबाट लेबनान सीमातर्फ सर्ने सम्भावना बढाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हिजबुल्लाहको लगातारको हमलाका कारण लेबनानसँगको सीमा क्षेत्रबाट विस्थापित भएका इजरायली नागरिकलाई घर फर्काउने वातावरण बनाउने प्रतिबद्धता जनाउनुभएको छ । तर पछिल्ला घटनाक्रमले इजरायलले लेबनानभित्रै सेना पठाएर हिजबुल्लाहमाथि आक्रमण गर्ने खतरा बढेको छ ।
पछिल्लो घटनाक्रमहरूले मध्यपूर्वमा युद्धको खतरा र तनाव बढेको छ ।








प्रतिक्रिया