
विराटनगर, २ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाउनु भएको छ ।
आज कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुभएको हो । एमाले-कांग्रेसको समर्थन पाउनु भएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो ।
मत बिभाजन प्रक्रियामा २ जना सांसद सहभागी हुनु भएको थिएन । विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रिया मा ८३ सांसदले भाग लिनुभयो । माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिनु भएको हो । माओवादीले यहि भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
केन्द्रमा एमाले-कांग्रेसको नयाँ गठबन्धन बनेपछि प्रदेशको पनि सत्ता समीकरण परिवर्तन भएको थियो । अहिले केन्द्रको समीकरण अनुसार नै प्रदेशमा एमाले-कांग्रेसको सरकार रहेको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ गरि ६९ सांसद रहेका छन् । त्यस्तै प्रदेशमा माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपा नेपालका एक सांसद रहेका छन् ।








प्रतिक्रिया