
काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकार र जनताबीचको सम्बन्ध घनिष्ठ हुनुपर्ने बताउनु भएको छ ।
आज एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागद्वारा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिन आयोजना कार्यक्रममा बोल्नुहुँदै उहाँले जनता र राज्यबीचको सम्बन्ध बिग्रियो भने राज्य कमजोर हुने बताउनु भएको हो ।
मुलुकमा जति समृद्धि, व्यापार, व्यवसाय र उद्यमशीलता बढ्छ त्यति नै सञ्चारमाध्यम पनि फस्टाउने उहाँको भनाइ छ । जतिबेला जनता र राज्य जोडिन्छन्, त्यतिबेला विकास, उद्यमशीलता र व्यवसाय बढ्ने उहाँले बताउनुभयो । जनता र राज्यविरुद्ध खाडल खडा गरेर राज्य बलियो नबन्ने कुरामा सञ्चारमाध्यमले ध्यान दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको धारणा राख्नुहुँदै उहाँले अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै बन्दै आएको उल्लेख गर्नुभयो ।
युवा पलायन आजको प्रमुख समस्या भएको बताउँदै उहाँले सञ्चार माध्यमले त्यसको कारणबारे विश्लेषण गर्न आवश्यक रहेको बताउनुभयो ।









प्रतिक्रिया