
काठमाडौं, २ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले सिप मेलाका नाममा १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको दाबी गर्नुभएको छ ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्नुहुँदै अध्यक्ष बडालले मेयर साहले सिप मेला कार्यक्रमका नाममा १ करोड ३० लाख रुपैयाँ अनियमित तरिकाले खर्च गरेको दाबी गर्नुभएको हो ।
बडालकाअनुसार यो रकम नगर सभाको स्वीकृति बिना र महानगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा उल्लेख नभई खर्च गरिएको छ । सार्वजनिक खरिद ऐन उल्लंघन गर्दै यो रकमलाई १०/१० लाखका साना टुक्रामा विभाजन गरी कोटेसनका आधारमा भुक्तानी गरिएको छ ।
‘सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई किन पोस्नु भयो ?’ मेयर साहलाई प्रश्न गर्दै अध्यक्ष बडालले भन्नुभएको छ, ‘तपाईंलाई लाग्ला, ‘मैले फेक सूचनाको साम्राज्य फैलाएर, भर्चुअल समर्थक खडा गरेको छु र महानगरभित्र गैरकानुनी रुपमा जति लुट चलाए पनि, कसैले पत्याउँदैन ।’ तर केही समयका लागि मात्रै हो त्यस्तो सुविधा । महानगर प्रशासनलाई दबदबामा राखेर, कसैलाई बोल्न नदिएपछि सचिवालय मार्फत गरेको कानुन उल्लंघन र सबै भ्रष्टाचार छोपिन्छ भन्ने पनि लागेको होला । कानुनी कार्बाही गर्ने निकाय सक्रिय भए एउटा फेसबुक स्टाटसले अर्को भाष्य खडा गर्छु भन्ने पनि लागेको होला । तर, यो सधैका लागि काम लाग्दैन ।’
‘तपाईंले गरेको १ करोड ३० लाख रुपैयाँ घोटाला बारे लेख्दै छु । नगरसभाले स्वीकृत नगरीकन तपाईंले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो । यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा छैन । कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईंले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो । यस विषयमा कसैलाई जान्ने इच्छा भए सूचनाको हक प्रयोग गरी महानगरपालिका कार्यालयको निर्णयको टिप्पणी र भुक्तानी भौचर माग गर्न सक्नुहुने छ ।’ बडालले फेसबुकमा लेख्नुभएको छ ।
अध्यक्ष बडालले यो रकम मेयरका सचिवालय सदस्य र सामाजिक सञ्जाल साइबर ग्रुपहरुलाई लाभ पुर्याउन प्रयोग गरिएको आशंका व्यक्त गर्नुभएको छ ।
बडालले मेयर साहलाई यससम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्न चुनौती दिनुभएको छ ।
उहाँले साहलाई प्रश्न गर्दै भन्नुभएको छ, ‘यसरी साइबर बुलीको झुण्डलाई पोसेर अरुको विरुद्ध अफवाह फैलाउने र आफूलाई महाराज बनाउने उद्देश्यले महानगर सभाले पास नगरी र बजेट विनियोजन नगरी गरिएको १ करोड ३० लाख रकमले कति जनाले सिप सिकेर व्यवसाय सुरु गरे ? तिनीहरुको नाम ठेगाना एउटा फेसबुक स्टाटस लेखेर सार्वजनिक गर्न सक्नुहुन्छ ? खरिद ऐनले यसरी योजना टुक्र्याएर खरिद गर्न अनुमति दिन्छ ? यो सिधै भ्रष्टाचार होइन ? १ करोड ३० लाख रुपैयाँ महानगरको निर्णय बिना मनोमानी खर्च गरेर सिप विकासमा प्राप्त गरेको उपलब्धी के ? हजारौं फेसबुक पेज र युट्युब च्यानल प्रयोग गरेर अराजकता र अश्लिलता फैलाउने हानिकारक सिपमा रकम दुरुपयोग गर्न पाइन्छ ? महानगरका ट्याक्स पेयरमाथि यसरी खेलबाड गर्न पाइन्छ ? यो त अपराध हो ।’
अध्यक्ष बडालले मेयर साहको यो कार्यलाई अपराध हो भन्दै भन्नुभएको छ, ‘सत्य छोप्न केही दिन सक्नुहोला मेयरसाप, मेट्न सक्नुहुन्न ।’








प्रतिक्रिया