
काठमाडौं, २९ भदौ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी)ले १४औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ । सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको २ सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो ।
आईओएफटीसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगष्ट २३ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जित्नुभएको थियो । उहाँले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गर्नुभएको थियो । त्यस प्रतियोगितामा नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुनुहुन्छ । भिजन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभएको थियो ।
समग्रमा भिजनको यो दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण हो । यसअघि भिजनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण जित्नुभएको थियो । विभिन्न घरेलु प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीका भिजनले २१ स्वर्ण जित्नुभएको थियो । भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाउनुभएको छ । सोही प्रतियोगितामा उत्कृष्ट निर्णायक बन्नुभएका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक भएको यो १४औं पटक हो । उहाँले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।
आईओएफटीसीका लागि खेलाडी छनोट गर्न नेपालमै गत वैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गर्नुभएका वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा भारतमा भएको १०औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जितेका राज मन्दिर श्रेष्ठ पनि प्रशंसा पत्रसहित सम्मानित हुनुभयो । उहाँहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा आईओएफटीसी नेपाल च्याप्टरका अध्यक्ष मिनप्रसाद खनाल र सचिव गिरीबहादुर सुनारको पनि उपस्थिति रहेको थियो ।








प्रतिक्रिया