१८ असार २०८३, बिहिबार

रिटर्नी फेडेरेशन नेपालको ‘रिटर्नी जागरण’ विमोचन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ भदौ । नेकपा (एमाले)को जनसंगठन रिटर्नी फेडेरेशन नेपालले प्रशिक्षण सामग्रीको सङ्गालोका रूपमा ‘रिटर्नी जागरण’ प्रकाशन गरेको छ । एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले ‘रिटर्नी जागरण’ प्रकाशनको आज विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले रिटर्नी फेडेरेशन नेपाललाई मुलुकको आर्थिक, सामाजिक विकासको एउटा महत्वपूर्ण कडिका रूपमा लिइएको बताउनुभयो । उहाँले रिटर्नी फेडेरेशनलाई वैदेशिक रोजगारमा रहँदा प्राप्त गरेको ज्ञान, सीप र पुँजीलाई राष्ट्र निर्माणमा कसरी लगाउने भन्ने पक्षमा सामूहिक विमर्श गर्ने, योजना बनाउने काम गर्न र त्यसका आधारमा विदेशमा रहेका नेपालीलाई जोड्ने काममा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

महासचिव पोखरेलले रिटर्नी फेडरेशन नेपालले वैचारिक, राजनीतिक र संगठनात्मक स्तर वृद्धि नगरिकन स्वभाविक रूपमा अन्य क्षेत्रका कामहरूलाई व्यवस्थित गर्न सकिँदैन भन्ने मान्यताका साथ वैचारिक, राजनीतिक र संगठनात्मक हिसावले फेडेरेशनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ रिटर्नी जागरण प्रशिक्षण सामग्री तयार गरेर प्रशिक्षणको कामलाई व्यवस्थित गर्ने पहल गर्नु सकारात्मक काम भएको बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेशन नेपालका इन्चार्ज डा. कृष्ण केसीले अहिले देशमा एक घर, एक वैदेशिक रोजगारी जस्तो स्थिति भइसकेको, शिक्षा क्षेत्रमा अविश्वासका कारण हाम्रा विश्वविद्यालयहरू रित्तिँदै गएको, देशको अर्थतन्त्रको ठुलो हिस्सा रेमिट्यान्स रहेकालगायत विषयमा चर्चा गर्नुभयो ।

‘रिटर्नी जागरण’मा वैदेशिक रोजगार, रिटर्नीहरूको पुनःसमायोजन र पुनर्स्थापना, संगठनात्मक सीप विकास, संगठनात्मक प्रश्नावली, संगठन व्यवस्थापन, आर्थिक व्यवस्थापन, पार्टी र जनसंगठनहरूको अन्तरसम्बन्ध, माक्सवादको सङ्क्षिप्त परिचय, जनताको बहुदलीय जनवादलगायत प्रशिक्षण सामग्री रहेका छन् । कार्यक्रम रिटर्नी फेडरेशन नेपालका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको थियो ।