
काठमाडौं, २६ भदौ । चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई वर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन प्रतिबन्ध लगाएको हो ।
अनुसन्धानले चीनमा १२० खेलमा फिक्सिङ भएको जनाएको छ, जसमा ४१ फुटबल क्लब संलग्न रहेको पाइएको छ । प्रतिबन्ध लाग्ने खेलाडीमा चीनको राष्ट्रिय टिमका पूर्व तीन खेलाडी सामेल छन् । जसमा जिन जिंगडाओ, गुओ टियान्यु र गु चाओ रहेका छन् भने दक्षिण कोरियाका सन् जुन हो पनि रहेका छन् । उनीहरुलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।
दक्षिण कोरियाली खेलाडी सन गत मार्चमा चीनमा १० महिनासम्म पक्राउ परेपछि दक्षिण कोरिया फर्किएका थिए । एसोसियसनका अध्यक्ष संग काइले यस प्रकरणमा ४३ जनालाई आजीवन प्रतिबन्ध लगाइएको र अन्य १७ जनालाई पाँच वर्षको प्रतिबन्ध लागेको जानकारी दिएका छन् ।
यसअघि अगस्तमा पूर्वउपाध्यक्षलाई अनियमितताको आरोपमा ११ वर्षको जेल सजायमा पठाइएको थियो भने एसोसियसनका पूर्वअध्यक्षलाई गत मार्चमा आजीवन काराबासमा पठाइएको थियो ।








प्रतिक्रिया