
काठमाडौं, २६ भदौ । अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प राष्ट्रपतिको टेलिभिजन बहसमा आमनेसामने हुनुभएको छ । यी दुईबीचको यो पहिलो राष्ट्रपति बहस हो । बहस सुरु गर्दै कमला ह्यारिसले ट्रम्पको आर्थिक नीतिलाई निशाना बनाउनुभएको थियो।
ट्रम्पले कमला ह्यारिसलाई सोध्नुभयो, ‘के तपाईंलाई लाग्छ अमेरिका चार वर्ष पहिलेको भन्दा राम्रो अवस्थामा छ ?’ यसबारे कमला ह्यारिसले आफू अवसरको अर्थतन्त्र बनाउने योजनामा रहेको बताउनुभयो । ह्यारिसले भन्नुभयो, ‘ट्रम्पले पछिल्लो पटक जस्तै अर्बपति र व्यापारीहरूलाई कर छुट दिने योजना बनाएका छन् ।’
उहाँले भन्नुभयो, ‘ट्रम्पले के भनेका छन् त्यसको १६ नोबेल पुरस्कार विजेता अर्थशास्त्रीहरूले आलोचना गरेका छन् र उनीहरूलाई लागु भयो भने अर्को वर्ष मन्दी आउने विश्वास छ ।’
ह्यारिसले भन्नुभयो, ‘डोनाल्ड ट्रम्पले हामीलाई महामन्दी पछिको सबैभन्दा खराब बेरोजगारी दरको साथ छोडिदिनुभयो । हामीले डोनाल्ड ट्रम्पले छोडेको गडबडी सफा गर्नुपर्यो ।’ ह्यारिसले ट्रम्पको ‘प्रोजेक्ट २०२५’ लाई खतरनाक योजना भन्नुभयो र ट्रम्प आए भने त्यसलाई कार्यान्वयन गर्ने बताउनुभयो ।
यस बहसका लागि केही नियम बनाइएको थियो, जसलाई दुवै उम्मेदवारले पालना गर्नुपर्ने गरी सहमति गरिएको थियो । एबीसी न्यूज च्यानलले आयोजना गरेको यो बहस ९० मिनेटसम्म भएको थियो । नेपाली समय अनुसार बिहान ६ः४५ बजे सुरु भएको यो बहस बिहान ८ः१५ बजेसम्म चलेको थियो ।
यो नियमअनुसार बहसका क्रममा दुई उम्मेदवारले आफ्ना सहकर्मी वा कर्मचारीसँग कुरा गर्न नपाउने गरी दुईवटा ब्रेक लिनेछन् । बहसको लागि कुनै पूर्व नोट वा लिखित सामग्री प्रयोग गर्न पाइने छैन ।
त्यसैगरी, बहस अघि टस भएको थियो, जसबाट दुई उम्मेदवार कुन पक्षमा बस्ने र कसले अन्तिममा बोल्ने भन्ने टुंगो लगाइएको थियो । यस बहसमा डोनाल्ड ट्रम्पले अन्तिममा बोल्नुभएको थियो ।








प्रतिक्रिया