२४ असार २०८३, बुधबार

वर्षेनी भव्य बन्दै अमेरिकामा बानाको नेपाली सडक महोत्सव

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, २४ भदौ । अमेरिकामा स्थापना भएका विभिन्न नेपाली संगठनहरू मध्येमा सबैभन्दा धेरै सक्रिय संस्था मध्येको एक बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना)को आयोजनामा सातौँ संस्करणको सडक महोत्सव हुनेभएको छ ।

विगतका ६ संस्करणलाई भव्य रूपमा सम्पन्न गरेको बानाले यो पटकको महोत्सवलाई पनि अझ उत्कृष्ट ढङ्गले गर्ने लक्ष्य राखेको छ । सन् २०१५ देखि लगातार रूपमा अमेरिकाको बाल्टिमोरमा नेपाली कला, संस्कृति र नेपालको प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो महोत्सवको आयोजना गर्दै आएको बानाले यो पटकको कार्यक्रमलाई अझ व्यवस्थित र धेरै भन्दा धेरै मानिसहरूको सहभागिता गराउने लक्ष्य राखेको छ ।

बाल्टिमोरको व्यस्त ठाउँ मध्येको एक टाउसनको मुख्य ठाउँमा हुने यो महोत्सवका लागि तयारी निकै द्रुत तरिकाले भइरहेको बानाका अध्यक्ष सुबोध पन्तले बताउनुभयो । सेप्टेम्बर १५ तारिख आइतबारका दिन हुने यो कार्यक्रम यो पटक एक दर्जन भन्दा बढी कार्यक्रमहरू राखिएको छ ।

विगतका वर्षहरूमा झै नेपाली संस्कृति झल्किने गतिविधिलाई निरन्तरता दिइनेछ । नेपालभन्दा धेरै टाढा रहेर पनि नेपाली संस्कृतिलाई विदेशी भूमिमा सबैमाझ देखाउने र यसलाई सबैको नजरमा उत्कृष्ट कार्यक्रम बनाउने लक्ष्यका साथ सातौँ संस्करणको सडक महोत्सवको आयोजना गर्न लागिएको बानाका महासचिव सागर घिमिरेले जानकारी दिनुभयो ।

नेपाली दूतावास, बाल्टिमोर सिटी काउन्सिलकोसमेत सहयोग रहेको यो कार्यक्रमले विगतका वर्षहरूमा राम्रो चर्चा पाउँदै आएको छ । यो कार्यक्रम हेर्नका लागि विदेशीहरूकोसमेत निकै राम्रो उपस्थिति रहने गरेको छ । विगत ६ वर्षदेखि निरन्तर रूपमा यो कार्यक्रम गर्दै आएको बानाले हरेक संस्करणमा अझ व्यवस्थित गर्दै आएको छ । कार्यक्रममा मेरिल्यान्डमा विभिन्न व्यवसायी गर्दै आएका नेपालीहरूको साथ सहयोगका साथै नेपालको संस्कृति झल्किने गरेर स्टलहरू पनि राखिँदै आएका छन् । जुन यो पटक पनि राखिनेछ । यसका साथै महोत्सवमा नेपालको मौलिक सांस्कृतिक लाखे नृत्य तथा अन्य विशेष किसिमका प्रस्तुतिहरू रहने भएका छन् । यसका साथै विभिन्न नेपाली कलाकार र स्थानीय कलाकारको पनि यो कार्यक्रममा प्रस्तुति रहने छ ।

आइतबारका दिन बिहान ११ बजेबाट सुरु हुने यो कार्यक्रम साँझ ५ बजेसम्म चल्ने बताइएको छ । पहिलो संस्करण देखि सातौँ संस्करणसम्म झन्डै नौ वर्षको अन्तरालमा यो कार्यक्रमले मेरिल्यान्डमा आफ्नै छुटै चर्चा कमाइसकेको छ । बानाले यो कार्यक्रमको सुरुवात गर्दा जुन किसिमको चुनौती भोग्नु परेको थियो, त्यो सातौँ संस्करणसम्म पुग्दा निकै कम भइसकेको छ । तर पनि सानातिना चुनौतीहरू अहिले पनि बानाले भोग्दै आएको छ । तर पनि यो कार्यक्रमलाई मेरिल्यान्डमा बस्ने नेपालीहरूले आफ्नो संस्कृति झल्काउने कार्यक्रम भनेर राम्रो साथ र सहयोग गर्दै आएका छन् ।

बानाले नेपालमा मनाउँदै आइएका विभिन्न कार्यक्रमहरूलाई मेरिल्यान्डमा रहेका नेपालीहरू माझ मनाउने गरेको छ ।