
पोखरा, २३ भदौ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन गण्डकीको आयोजनामा पोखरामा भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरामा आउँदो भदौ २७ देखि ३१ गतेसम्म सुवासचन्द्र नेम्वाङ स्मृति प्रथम प्रदेशस्तरीय पुरूष खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।
संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष नेम्वाङको २०८० साल भदौ २७ गते निधन भएको थियो । उहाँकै प्रथम स्मृतिको दिन पारेर पोखरामा प्रतियोगिता गर्न लागिएको अनेरास्ववियु गण्डकी अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने टिम भने अनेरास्ववियुकै हुनुपर्ने र राष्ट्रिय खेलाडी पनि समावेश गर्न पाइने छ ।
प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७१ हजार १११ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।
प्रतियोगितामा भाग लिन ७ हजार ५ सय रूपैयाँ दर्ता शुल्क तोकिएको अनेरास्ववियु गण्डकीका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक विक्रम क्षेत्रीले बताउनुभयो ।
अनेरास्ववियुका जिल्ला, पालिका, क्याम्पस कमिटीले गण्डकी प्रदेशकै राष्ट्रिय खेलाडी राखेर टिम बनाउन सक्ने उहाँले बताउनुभयो । ‘राष्ट्रिय खेलाडी भएपनि गण्डकी प्रदेशकै हुनुपर्छ । बाहिरको खेलाडी टिममा मिसाएर खेलाउन पाइँदैन ।’ उहाँले भन्नुभयो ।
प्रतियोगिता पृथ्वीनारायण क्याम्पसको भलिबल कोर्टमा हुने अनेरास्ववियु गण्डकीका सचिव सुरज सापकोटाले जानकारी दिनुभयो । भदौ २५ गते साँझ ४ बजेसम्ममा टिम दर्ता गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटनमा अनेरास्ववियुका केन्द्रीय पदाधिकारी सहभागी हुने छन् ।
त्यस्तै, समापन समारोहमा स्व. सुवासचन्द्रका छोरासमेत रहनुभएका प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ पोखरा आउने तयारी छ ।







प्रतिक्रिया