
काठमाडौं, २२ भदौ । फिल्म ‘परदेशी २’बाट अभिनेता बन्नुभएका गायक प्रकाश सपूतको नयाँ फिल्म वसन्तको छायांकन सुरु भएको छ । फिल्मको छायांकन बागलुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो ।
प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्कालगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्नुभएको थियो । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो ।
बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताउनुभयो ।
सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्रीलगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उहाँले नै तयार पार्नुभएको छ । तीन करोड बजेट अनुमान गरिएको फिल्मलाई आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ ।















प्रतिक्रिया