३० असार २०८३, मंगलबार

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको विजयी सुरुवात

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलले युइएफए नेसन्स लिगमा शानदार सुरुवात गरेको छ ।

बिहीबार राति भएको युइएफए नेसन्स लिगको खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोलको मद्दतले पोर्चुगलले क्रोएशियामाथि २–१ को जित हासिल गर्दै उत्कृष्ट सुरुआत गरेको हो ।

रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको पोर्चुगलको टोलीलाई रोनाल्डो र डियोगो डालोटको गोलको मद्दतले जितायो । जितसँगै पोर्चुगलले समूह ‘ए’मा तीन अंक जोडेको छ ।

खेलको प्रारम्भिक सातौं मिनेटमै म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । डालोटले बु्रनो फर्नाण्डेसको पासलाई गोलमा परिणत गर्दै अग्रता दिलाएका हुन् ।

खेलको ३४औं मिनेटमा कप्तान रोनाल्डोले ऐतिहासिक ९००औं गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो । मिकेल मन्डेसको क्रसलाई रोनाल्डोले हेडरमार्फत गोलमा परिणत गर्दै आफ्नो करियरको एक महत्वपूर्ण माइलस्टोन पार गरे । यस गोलसँगै रोनाल्डो ९०० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यसकीर्तिमानसँगै रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलमा १३१ गोलको रेकर्डसमेत कायम भएको छ ।

खेलको ४१औं मिनेटमा क्रोएशियाले एक गोल फर्काउने मौका पायो । क्रोएशियाका खेलाडीले एक क्रस दिएपछि पोर्चुगलका डालोटले आत्मघाती गोल गरे, जसले पहिलो हाफमा खेलको स्कोरलाई २–१ मा पुर्‍यायो ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न नसकेपछि खेल २–१ को स्कोरमा समाप्त भएको थियो ।

यसैबीच, समूह ‘ए’को अर्को खेलमा पोल्यान्डले स्कटल्यान्डलाई ३–२ गोलले पराजित गरेको छ ।