– सुमन ढुंगाना
‘सामाजिक’ शब्द आफैमा सकारात्मक र महान शब्द हो । अझ त्यसमा सञ्जाल जोडेपछि सामाजिक सञ्जाल बनेको हो । र, तिनै तथाकथित सकारात्मक सञ्जालका नमुना हुन् फेसबुक, ट्विटर आदि आदि । तर, यी सकारात्मक भाव झल्काउने सामाजिक सञ्जालमा भने असामाजिक कार्य र आफ्ना सदस्यता अर्थात फलोअर्सका नामबाट तथाकथित परिवर्तन र कायापलटको बेतुके अनुमान गर्ने र कोही कोहीले त ठोकुवा नै गर्न थालेका छन् ।
सामाजिक सञ्जालमा भएका फलोअर्सकै कारण नेता हुने भए दीपिका पादुकोण भारत कि प्रधानमन्त्री हुनुपर्ने हो । पोर्नस्टार मिया खलिफासँग वार्ता गर्न बाइडेन आउनु पर्ने हो । रुस र युक्रेन युद्धमा बम र तोप हैन स्टाटस र ट्विट बर्सन पर्ने हो । इजरायलमा हमासले स्टाटस आक्रमण गर्नुपर्ने हो । बंगलादेशमा हसिनाका वस्त्र चोर्ने हैन, उनका पोस्टमा डिसलाइक हुनपर्ने हो । भारत र पाकिस्तानको क्रिकेटमा हार्ने खेलाडीको घर तोडफोड गर्ने आफ्नै टेलिभिजन फुटाउनुको सट्टा फेसबुकमा बटन थिच्नुपर्ने हो । तर, माथि उल्लेख गरिएको कार्य के सामाजिक सञ्जालले न गर्यो, न त गर्न सक्छ । नेपालकै कुरा गरम् ७० करोड भन्दै गोकुल बास्कोटाको खेदो खनियो तर उल्टो आफूले गरेको विकासे योजनाको बजेट हान्देकै हो भनेपछि शिथिल भयो यो गैरसामाजिक सञ्जाल । के जपी गुप्तालाई सञ्चार मन्त्रालयबाट अदालत र अदालतबाट जेल पुर्याएको सामाजिक सञ्जालले हो र ? के अफ्ताव आलम जेल पुगेको तिम्रै फेसबुकले हो र ? अमेरिकामा सबैले दुई पटक राष्ट्रपति खाँदा डोनाल्ड ट्रम्प पहिलोमा सिमित भएको यहि फेसबुकले हो र ? खैर विदेश छोडौँ, हिजो मात्र वरिष्ठ कलाकारलाई यही सामाजिक सञ्जालले मार्यो र उनले म सुटिङमा छु भन्न पर्यो भिडियोमार्फत । अनि यस्ता कथित सामाजिक सञ्जाललाई अब त असामाजिक भन्न छुट होला नि ,
हुन त वर्तमानमा आक्रोश पोख्ने र भोलिपल्ट कि डिलिट गर्ने नत्र वेवास्ता गर्ने साधन मात्र हो । नाम सामाजिक सञ्जाल भए पनि यसमा तथानाम लेख्न पाइन्छ, प्रमाण होस् या नहोस् जेपनि आरोप लगाउन पाइन्छ, गलत आफूले गरेपनि जसले सुरुमा लेख्यो उसकै पछाडि दौडिने जमात पाइन्छ । गाँजा खाएर अराजक कार्य गरेको कतै सुनिन्न, तर गाँजाकै लत बसेका एक दुई थान मनुवाका नाटक हेर्न पाइन्छ । यो बाहेक तत्काल आक्रोश पोख्न मिल्ने भएकाले कालन्तरमा हुने भौतिक आक्रमण र अपराधको अन्त्य पनि गरेको छ, सामाजिक सञ्जालले । त्योसँगै बेपत्ता भेटाउने, अभाव रगत मिल्ने तथा अपराधी पत्ता लगाउने कार्य भने गरेको छ सामाजिक सञ्जालले ।
सामाजिक सञ्जालको प्रभाव र भूमिका बारे गहन चिन्तन गर्नुपर्ने समय आएको छ । यसले समाजमा सकारात्मक र नकारात्मक दुवै प्रभाव पारिरहेको छ । एकातिर यसले तत्काल सूचना प्रवाह, सहयोग र संवादको माध्यम बनेको छ भने अर्कोतिर पछिल्लो समय अफवाह फैलाउने र गैरजिम्मेवार व्यवहारको मञ्च पनि बन्दै गएको छ । सामाजिक सञ्जालको प्रयोग गर्दा यसको सीमा र शक्तिको सन्तुलित बुझाइ आवश्यक छ ।
सामाजिक सञ्जाललाई न अति महत्व दिनु उचित हुन्छ, न त पूर्णतः नकार्नु । यसकारण सामाजिक सञ्जालको बौद्धिक र जिम्मेवार प्रयोग गर्न सिक्नु आजको आवश्यकता हो ।