
काठमाडौं, १६ भदौ । युक्रेनले सीमा क्षेत्र र राजधानी मस्कोमा रुसविरुद्ध ठूलो मात्रामा ड्रोन आक्रमण गरेको छ ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा मस्कोतर्फ उडेका कम्तीमा पाँचवटा ड्रोन ध्वस्त भएको बताउनु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरु ध्वस्त भएका छन् ।
उहाँले भन्नुभयो, ‘हामीलाई निकै कम क्षति भएको छ । दुईवटा इन्धन स्टेशन र एउटा भवनमा मात्रै क्षति पुगेको छ ।,’ यद्यपी रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ ।
ड्रोनको उत्पादन बढ्दै गएपछि युक्रेनले पनि रुसमाथि आक्रमण बढाएको छ । यसअघि रुसले युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा पनि आक्रमण गरेको थियो, जसमा १४ वर्षीया बालिकाको मृत्यु भएको थियो । स्थानीय अधिकारीहरूले यो रुसी नियन्त्रित बम आक्रमण भएको बताएका छन् ।
यसबाहेक रुसी सीमा नजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो । जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए । पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई हटाएको केही घण्टापछि भएको हो । जेलेन्स्की आफैंले जान मिकोला ओलेस्चुकलाई आफ्नो पदबाट हटाउनु भएको छ ।









प्रतिक्रिया