१६ असार २०८३, मंगलबार

बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट हुनुपर्छ : अर्थमन्त्री पौडेल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लुम्बिनी, १५ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा आज अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पनि पहल गर्ने बताउँदै यसमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । यहाँको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गर्नुभयो ।

अस्पतालमा निर्माणाधीन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्को मार्न सकिने बताउँदै अर्थमन्त्री पौडेलले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभएको उल्लेख गर्दै उहाँले दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणको व्यवस्थापन पनि महत्वपूर्ण विषय रहेको बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गुनासोरहित सेवा नागरिकको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । शल्यक्रिया तथा अन्य सेवाका लागि महिनौंँ कुर्नुुपर्ने विषयसँग सम्बन्धित बजारमा आएका टिप्पणी उठाउँदै उहाँले सुधारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेकाले अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न आग्रह गर्नुभयो ।