
धरान, १५ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विकास निर्माणमा भइरहेको ढिलासुस्तीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
शनिबार सुनसरीको धरानमा इलाका प्रहरी कार्यालय धरानको हिरासत भवनको उद्घाटन गर्नुहुँदै उहाँले विभिन्न बहानामा विकास निर्माणमा ढिलासुस्ती हुने गरेकोमा चिन्ता प्रकट गर्नुभयो । उहाँले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न गर्नेगरी सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘७०० दिनमा बन्नुपर्ने भवन पूरा हुन २१ सय दिन लाग्यो । अब यसरी विकास हुन्न, आजबाटै सच्याउने प्रतिबद्धता गर्नुपर्छ । यो देशभरकै अवस्था हो । यस्तो मोडलबाट विकास हुन्न । सुधार गरेर लागौँ, हामी सबैले आज प्रतिबद्धता जनाउनु पर्छ ।’
फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले धर्म, जाति सम्प्रदाय सबैकुरा छोडेर म धराने नेपाली हुँ भन्ने सोचेर धरानको समृद्धि र विकासको लागि लाग्न आग्रह गनुभयो । धरानले आफ्नो पुरानो शाख गुमाउँदै गएको बताउदै उहाँले फेरि पुरानो शाख फर्काउन लाग्न आग्रह गर्नुभयो । धरानको विकासमा प्रदेश सरकार सधै तयार रहेकोसमेत उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केही वर्ष यता केही विषयमा चित्त नबुझेर होला अहिले बसाइँसराइ समेत भइरहेको छ । यसलाई रोक्नु पर्छ । म जस्तोसुकै सहयोग गर्ने छु । आपसी मतभेदहरु छन् भने पनि त्यसलाई बिर्सिएर हामी सबै धरानेहरु एक भएर अघि बढ्नु पर्छ ।’
मुख्यमन्त्री कार्कीले देश र प्रदेश दुबैको आर्थिक स्रोतहरु समेत बढ्ने संकेत देखिएको भन्दै अब विकास निर्माणले गति लिने बताउनुभयो । खेलकुद र शिक्षाको केन्द्रसमेत भएको भन्दै धरानमा विकास र समृद्धिको ठूलो सम्भावना रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्की आन्तरिक मामिला तथा कानून मन्त्री हुँदा शिलान्यास गर्नुभएको यो भवन जनस्तरबाट सहयोग संकलन तथा संघीय सरकार, प्रदेश सरकार र धरान उपमहानगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो ।









प्रतिक्रिया