
काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गर्नुभएको छ ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रस्तावबारे शनिबार बुढानिलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताउनुभएको छ ।
अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरि छलफल हुने बताइएको छ ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यसअघि पटक पटक गरेको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ ।
सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहानुभएको छ । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ ।
सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहनुभएको छ ।
त्यस्तै, देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन् ।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते आइतबारका लागि बोलाइएको छ ।









प्रतिक्रिया