
काठमाडौं, १५ भदौ । कृषि तथा वन विज्ञान संस्थान केन्द्रीय क्याम्पस रामपुरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताले गरेको व्यवहारप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले आपत्ति जनाएको छ ।
गत भदौ ११ गते राति क्याम्पसको सगरमाथा छात्रावास अगाडि नेविसंघका कार्यकर्ताले अनेरास्ववियुविरुद्ध नाराबाजी गर्ने, संगठनका नेताहरूविरुद्ध अपशब्द बोल्नेलगायतको अमर्यादित गतिविधिहरू गरेका भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
त्यस्तै, भदौ १२ गते राति सोही छात्रावासमा मदिरा सेवन गरेर गएका नेविसंघका कार्यकर्ताले सवारी साधनहरू तथा निजी सामाग्रीहरू तोडफोड गर्नेलगायतका हिंसात्मक गतिविधि गरेको भन्दै अनेरास्ववियुले घटनाको भर्त्सना गरेको छ ।
नेविसंघ निकट केही कार्यकर्ताले भदौ ९ गते भएको डोरी तान्ने प्रतियोगितामा अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरूबाट पराजित भएको निहुँमा नेविसंघका कार्यकर्ताबाट नियोजित हिंसात्मक घटना घटाएको र .घटनालाई स्वयम् संस्थानका डिनले चासो नदिएर घटना घटाउनेहरूलाई संरक्षण गरिरहेको अनेरास्ववियुको भनाई छ ।
‘यस घटनालाई लिएर झुट्टा जाहेरीको आधारमा हाम्रो संगठनका नेताहरू प्रसन्न पोख्रेल, विनोद भण्डारी, विवेककुमार यादव, विवेक खत्री र चिरण खनाललाई पक्राउ गरिएकोमा तत्काल रिहाइको माग गर्दछौँ, यस क्रममा घाइते हुनु भएका संगठनका नेता कार्यकर्ताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, संगठनका अध्यक्ष समिक बडालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
अनेरास्ववियुले राजनीतिक दबाबमा नपरी घटनाको निष्पक्ष छानबिन गर्न, दोषीहरू पहिचान गरी कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । शिक्षण संस्थाहरूमा हिंसात्मक गतिविधि निस्तेज गरी शान्तिपूर्ण ढङ्गले अध्ययन अध्यापनको वातावरण निर्माण गर्न अनेरास्ववियु सदैव प्रतिबद्ध रहेको पनि स्मरण गराइएको छ । ‘हाम्रो संयमतालाई कमजोरीको रूपमा लिएमा यस्ता अराजक गतिविधिहरूविरुद्ध संगठनले कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’ विज्ञप्तिमा लेखिएको छ ।









प्रतिक्रिया