१९ असार २०८३, शुक्रबार

सरकारसँग नयाँ रंगशाला निर्माणका लागि जग्गा माग गर्ने एन्फाको निर्णय

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सातौं कार्यसमितिको बैठकले सरकारसँग सुविधासम्पन्न रंगशाला बनाउनका लागि जग्गा माग गर्ने निर्णय गरेको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको अध्यक्षमा दुई दिनसम्म बसेको बैठकले करिब २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न आधुनिक र अन्तर्राष्ट्रिय मापदण्डसहितको फुटबल रंगशाला निर्माण गर्न अतिआवश्यक देखिएकाले नेपाल सरकार, प्रधानमन्त्रीलाई जग्गा उपलब्धताको लागि अनुरोध गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ ।

यसैगरी, नयाँ रंगाशाला निर्माण गर्न २२,००,००० अमेरिकी डलर विनियोजन गर्ने र रंगशाला निर्माणार्थ जग्गा प्राप्तीको लागि सरकारसँग समन्वय गर्न संघका उपाध्यक्ष दिपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहनेगरी तीन सदस्य समिति गठन पनि गरिएको छ ।

यसैगरी, साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग माग गर्ने निर्णय गरिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । दशरथ रंंगशालाको मैदान मर्मतको लागि ३००,००० अमेरिकी डलर विनियोजन गर्ने निर्णय गरिएको छ ।

खेलाडीलाई पुरस्कृत

महिला तथा पुरुषतर्फको उत्कृष्ट खेलाडी घोषणा गरी प्रोत्साहन स्वरुप कारबाट पुरस्कृत गर्ने तथा उत्कृष्ट रेफ्रि र प्रशिक्षकलाई जनही २,००,००० (दुई लाख रुपैयाँ) र मोटरसाइकल/स्कुटरबाट र लाइफ टाइम एचिभमेन्ट अवार्ड ५,००,०००। (पाँच लाख रुपैयाँ) र मोटरसाइकल/स्कुटरबाट पुरस्कृत गर्ने निर्णय गरिएको छ । उत्कृष्ट खेलाडी, रेफ्रि तथा प्रशिक्षक छनौट गर्न छनौट समिति गठन गर्ने निर्णय गरएको छ । समितिको संयोजकमा पुरुषोत्तम थापा छन् भने सदस्यहरुमा हरि खड्का र सञ्जीव मिश्र रहेका छन् ।

बजेट विनियोजन

बी डिभिजन लिगका लागि आवश्यक रकम ३,९५,८६,५८१.९८ रुपैयाँ मध्ये १,४८,३५८ अमेरिकी डलर फिफा फरवार्ड २.० शीर्षकबाट खर्च गर्ने निर्णय गरिएको छ । महिला लिग तथा छनौट फुटबल प्रतियोगिता (तीन संस्करण) सञ्चालन गर्न ६,९८,१८१ अमेरिकी डलर, ग्रासरुट कार्यक्रम सञ्चालन गर्न १,९६,११० अमेरीकी डलर, विद्यालय स्तरको छात्र तथा छात्रा आगामी दुई संस्करणको फुटबल प्रतियोगिता सञ्चालन गर्न २६०,००० अमेरिकी डलर, एन्फा कम्प्लेक्सको खेल मैदानमा प्रो टर्फ तथा लाईट जडानका निम्ति २,६४,७१३ अमेरिकी डलर, गोदावारी नगरपालिकामा रहेको खेल मैदान निर्माण गर्न १,००,००० अमेरिकी डलर, काभ्रे जिल्लामा धुलिखेल नगरपालिकाको फुटबल खेल मैदान निर्माण गर्न १,००,००० अमेरिकी डलर, पूर्वाधार निर्माण गर्न आवश्यक धादिङ, मकवानपुर, जुम्लालगायतका अन्य कागजात पूरा गर्ने जिल्लाहरुमा ५,००,००० अमेरिकी डलर खर्च गरिने निर्णय भएको एन्फाले जनाएको छ ।

यस्तै, राष्ट्रिय खेलाडीहरुलाई आवागमनको लागि सुविधासम्पन्न सटल बस खरिद गर्न १,००,००० अमेरिकी डलर, विभिन्न खेलकुद सामग्रीहरु खरिद गर्न ३,००,००० अमेरिकी डलर, लगेज डेलिभरी भ्यान खरिद गर्न २५,००० अमेरिकी डलर, सिन्धुपाल्चोक जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १००,००० अमेरिकी डलर, सप्तरी जिल्लामा फुटबल खेल मैदान निर्माण गर्न १००,००० अमेरिकी डलर, कैलाली जिल्लामा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न १००,००० अमेरिकी डलर, बुद्धि विकास खेल मैदान तथा भौतिक पूर्वाधार निर्माण फुटबल खेल मैदान स्तरोन्तरी गर्न ३३,४०६ अमेरिकी डलर, धरान, रौतहट, बुटवल एकेडेमी मर्मत तथा फर्निसिङ्गको निम्ति २६,५३७ अमेरिकी डलर छुट्याएको छ ।

कर्णाली प्रदेश फुटबल संघ

कर्णाली प्रदेश फुटवल संघमा विधानअनुसार प्रमोद हमालको अध्यक्षतामा तदर्थ समिति गठन गर्ने निर्णय गरिएको छ । नयाँ सदस्यता थप गर्न अनुरोधअनुसार कपिलवस्तु जिल्ला फुटबल संघ तिलक थापाको अध्यक्षतामा तदर्थ समिति गठन गरी आगामी संघका साधारण सभाबाट अनुमोदन गर्ने निर्णय गरिएको छ ।

एन्फाका महासचिव किरण राईको पारिश्रमिक २,००० अमेरिकी डलर कायम गरिएको छ । यो प्रस्ताव बहुमतबाट पास भएको बुझिएको छ ।

महिला तथा पुरुष राष्ट्रिय टिमका फुटबल खेलाडीहरुलाई मासिक भत्ता बापत जनही ३०,००० रुपैयाँ, फिफा रेफ्रिहरुलाई मासिक २०,००० रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ । राष्ट्रिय टिमका महिला तथा पुरुष खेलाडीहरुका साथै उमेर समूहका राष्ट्रिय खेलाडीहरु, रेफ्रिहरु, एन्फाका पदाधिकारीहरु तथा सचिवालयका कर्मचारीहरुको स्वास्थ्य बीमा गर्ने निर्णय भएको छ ।

वर्तमान मुख्य प्रशिक्षकको सम्झौता अघि नबढाउने सहमतिभएसँगै पुरुष राष्ट्रिय फुटबल टिममा प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ । महिला साफ च्याम्पियनसिप २०२४ फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा यहि अक्टोबर १७ देखि ३० सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । अखिल नेपाल फुटबल संघले यसै वर्षदेखि आगामी तीन वर्ष सम्म देशव्यापी रुपमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । एन्फा महिला लिग २०८१ भदौ १६ गते दशरथ रंगशलामा उद्घाटन गर्ने र प्रतियोगिताको सञ्चालन गर्न सरीला श्रेष्ठ संयोजक रहेको समिति बनाइएको छ । सदस्यहरुमा सन्त थापा मगर र बृन्दा देवान रहेका छन् ।

कात्तिक १ बाट सञ्चालन हुने एन्फा यु–१६ युथ लिगको बजेट १२,३६,३३० र २०८१ असार ३० बाट जारी भएको ललित स्मृति एन्फा यु–१८ युथ लिगको ६८,०९,७०० रुपैयाँको बजेट पारित गरिएको छ ।

त्यसैगरी, कास्की जिल्ला माछापुच्छे गाउँपालिकाको भेडाबारीको टेक्निकल सेन्टर र रौतहटको चन्द्रनिगाहपुरको महिला एकेडेमीमा कानुनी विवाद समाधानको लागि संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का संयोजक रहनेगरी सहायक महासचिवद्धय दामोदर भट्टराई र अरुणमान जोशी र प्रवक्ता सुरेश शाह सदस्य रहनेगरी कमीटि गठन गरेको छ ।