
काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुककाबीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनु भएको छ ।
सोमबार पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘नेपालले सन्तुुलत, इमानदारिता र पक्षधरता बिहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्काे छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौँ । कसैको कुुभलो चिताउँदैनौँ । हाम्रो भूमिकुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौँ । हामी तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्छौँ । संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छाैँ । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्व शान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौँ । कुनै पनिदेशले आफ्नो स्वार्थका लागिअरुको स्वाभिमानामा धक्का लगाउने काम गर्नु हुँदैन ।’
उहाँले देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभिमानको झण्डालाई फहराउन आग्रह गर्नुभयो ।
यस्तै, उहाँले नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धी लगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (इपिजी)को प्रतिवेदन बुुझ्न भारतीय पक्षलाई आग्रह गर्दै त्यसपछि सीमा विवाद लगायत विषयमा थप संवाद गर्न सहज हुने बताउनुभयो ।








प्रतिक्रिया