
काठमाडौं, १० भदौ । मातृ तथा शिशु मृत्युदर सोचेअनुसार घट्न नसकेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिअन्तर्गत दिगो विकास उपसमितिले अयोजना गरेको छलफल कार्यक्रममा मातृशिशु मृत्युदर घटाउन नेपाली समाज र चेतनाअनुसारका नमुना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको कुरामा जोड दिएका हुन् । अहिले जनचेतनाको अभाव, कमजोर आर्थिक अवस्था र भौगोलिक विकटताका कारण मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरको तथ्याङ्क डरलाग्दो रहेको हुँदा यसलाई घटाउन नमुना खालका कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने यो दरलाई दोहोर अंक हुँदै एकल अंकमा घटाउन सक्ने धारणा सरोकारवालाहरुको थियो ।
सरोकारवालाले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदरलाई दोहोरो अंक हुँदै एकल अंकमा झार्ने गरी योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यसअघिको तथ्याङ्कमा नेपालमा प्रत्येक एक लाख जीवित जन्ममा मातृ मृत्युदर २ सय ५८ रहेको थियो । त्यसलाई सन् २०३० सम्ममा घटाएर ७० मा झार्ने लक्ष्य लिइएको छ ।
त्यस्तै, पाँच वर्षमुनिका बाल मृत्युदर नेपालमा ३९ रहेको छ । त्यसलाई पनि २० मा झार्ने लक्ष्य लिइएको छ । करिब ५० प्रतिशत स्थानिय तहले मातृमृत्युदर शुन्यमा झार्ने प्रयास गरिरहेकोले त्यसलाई सबै स्थानीय तहमा लैजान पनि उनीहरुको जोड थियो ।
छलफलमा बोल्दै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर अहिले राज्यका लागिसमेत चुनौती बनेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहको एकमुष्ट पहलमा घटाउनेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुख्य गरेर स्थानीय तहले स्वयंसेविकाहरुलाई थप सेवा सुविधा दिएर परिचालन गर्न सकेको अवस्थामा प्रभावकारी कार्यान्वयन गरेर अघि बढ्न सहयोग पुग्ने बताउनुभयो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले राष्ट्रिय सभाले दिगो विकास लक्ष्याका विषयमा संकल्प प्रस्ताव नै पारित गरेको जानकारी दिँदै अहिले स्वास्थ्यका क्षेत्रमा भैरहेको यो नवीन खोज अनुसन्धानका माध्ययमबाट प्राप्त ज्ञान विश्वका लागि पनि उदाहरणीय बन्ने अपेक्षा गरेका छौँ भन्नुभयो ।
दिगो विकास उपसमितिका संयोजक डा. अन्जान शाक्यले दिगो विकास लक्ष्यका १७ बुँदा मध्ये राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर ३ नम्बर बुँदामा रहेको उल्लेख गर्दै सबै उमेर समूहका व्यक्तिका लागि स्वास्थ्य जीवनको सुनिश्चितता गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने कुरामा हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस्ता विषयमा केन्द्रित भएर समितिले छलफल अघि बढाएको पनि उल्लेख गर्नुभयो ।
त्यसैगरी, समितिका सदस्य बामदेव गौतमले मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर घटाउने हो भने आर्थिक अभाव भएका परिवारलाई कम्तिमा तीन वर्षसम्म आमा र बच्चा दुबैको स्वाथ्य र आर्थिक पाटो राज्यले व्यहोर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । समितिका सदस्य सावित्रा मल्लले सबै स्थानीय तहले ‘गर्भवती महिलासँग जनप्रतिनिधिसँग भेटघाट’ कार्यक्रम ल्याई त्यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
समितिका सचिव रोजनाथ पाण्डेले लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा नमूनाका रुपमा मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर ‘डिजिटलाईजेशन’मार्फत घटाउने परियोजना नमूना सफल भएमा अन्य जिल्ला र प्रदेशमा पनि सञ्चालन गर्न सकिने र दिगो विकास लक्ष्यका लागि यो प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश र अझ त्यसमा पनि कपिलवस्तुमा सबैभन्दा बढी मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर रहेको अनुसन्धानबाट प्राप्त भएपछि त्यही जिल्लालाई केन्द्रित गरेर मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर ‘डिजिटलाईजेशन’मार्फत घटाउने परियोजनाको सुरुवात गरिएको छ । तथ्याङ्कअनुसार उक्त जिल्लामा मातृ मृत्युदर तथा नजजात शिशु मृत्युदर प्रति एक लाखमा २ सय ७ रहेको छ ।
छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. आरपी विच्छा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवहरु डा. विकास देवकोटा र डा.दीपेन्द्र रमणसिंहले पनि यो परियोजनालाई प्रभावकारी ढंगले अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष प्रा.डा. गेहनाथ बरालले यो नवीन मोडेल भएको भन्दै यसलाई अन्य जिल्ला र प्रदेशमा पनि लैजानुपर्नेमा जोड दिनुभयो । विश्व स्वास्थ्य संगठन नेपालका डाक्टर राजेश पाण्डव र डाक्टर पूजा प्रधानले सहकार्य गरेर अघि बढ्न आफूहरु तयार रहेको जानकारी गराउनुभयो ।









प्रतिक्रिया