२९ आश्विन २०८३, बिहिबार

प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै २ खेलबाट ६ अंक बनाएको लिभरपुल तालिकाको चौथो स्थानमा छ । ब्रेन्टफोर्डको भने पहिलो हार हो । उसको तालिकामा ३ अंकमात्रै छ ।

लिभरपुलले घरेलु मैदान एनफिल्डमा ब्रेन्टफोर्डविरुद्ध २–० को सहज जित निकाल्दा लुइस डियाज र मोहमद सलाहले एक/एक गोल गरेका थिए । खेलको १३औं मिनेटमा डियाजले डिएगो जोटाको पासमा गोल गर्दै अग्रता दिलाए । ७०औं मिनेटमा सलाहले डियाजको पासमा गोल गरेपछि लिभरपुल २–० ले विजयी भयो ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले वुल्भरह्याम्पटन (वुल्भ्स)लाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा चुकुनोन्सो ट्रिस्टन मडुकेले ह्याट्रिक गर्दा निकोलस ज्याक्सन, कोल पालमर र जाओ फ्लेक्सले एक/एक गोल गरे । वुल्भ्सका लागि म्याथ्युस सान्टोस र जोर्जेन स्ट्रान्ड लार्सेनले एक/एक गोल फर्काए ।

चेल्सीका लागि निकोलस ज्याक्सनले खेलको दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । वुल्भ्सका म्याथ्युस सान्टोसले गोल गर्दै २७औं मिनेटमा बराबरी गरे । ४५औं मिनेटमा कोल पालमरले गोल गरेपछि चेल्सीले अग्रता २–१ बनायो ।

पहिलो हाफमै अतिरिक्त छैटौं मिनेटमा लार्सेनले गोल गरेपछि बुल्भ्सले पहिलो हाफ २–२ को बराबरीमा अन्त्य गरेको थियो । तर, दोस्रो हाफमा चेल्सीले थप आक्रामक खेल्दै थप ४ गोल गरेको थियो । ४९औं मिनेटमा चुकुनोन्सो ट्रिस्टन मडुकेले व्यक्तिगत पहिलो गोल गरेपछि चेल्सीले ३–२ को अग्रता लिन पुग्यो । उनै मडुकेले ५८औं र ६३औं मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सी ५–२ ले अघि बढेको थियो ।

८०औं मिनेटमा जाओ फ्लेक्सले गोल गरेपछि चेल्सीले यो सिजनको पहिलो र फराकिलो जित निकाल्न सफल भयो । जितपछि चेल्सीले तालिकामा पहिलो ३ अंक जोड्न सफल हुँदा वुल्भ्सको भने यो लगातार दोस्रो हार हो ।

प्रिमियर लिगकै अर्को खेलमा एएफसी बर्नमाउथ र न्युक्यासल युनाइटेडले एकएक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।