
काठमाडौं, ९ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल लगातार दोस्रो खेलमा विजयी भएको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई २–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जीतमा लियोनार्दो ट्रोसान्ड र थोमस पार्टेले एक एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा आर्सनलले ६७औं मिनेटमा अग्रता लिएको थियो । ट्रोसान्डले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । त्यसको १० मिनेटपछि पार्टेले गोल गरेपछि आर्सनल २–० ले अघि बढेको थियो । त्यसपछि दुवैतर्फबाट थप गोल नभएपछि अन्ततः २–० को नतिजा निकाल्न सफल भयो । जितसँगै आर्सनलले २ खेलबाट ६ अंक बनाउँदा एस्टनले समान खेलबाट ३ अंकमात्रै बनाएको छ ।
टोटनह्यामको जित
प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हटस्परले एभर्टनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ । टोटनह्यामको जीतमा सन हिउङ मिनले २ गोल गर्दा एभेस विसोउमा र क्रिष्टियन रोमेरोले एक/एक गोल थपेका थिए ।
टोटनह्यामले घरेलु मैदानमा १४औं मिनेटमा अग्रता लिएको थियो । एभेसले टिमका लागि पहिलो गोल गरेका थिए । २५औं मिनेटमा सनले गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २ गोल गरेको टोटनह्यामले दोस्रो हाफमा अरु २ गोल थपेको थियो ।
७१औं मिनेटमा रोमेरोले गोल गरेपछि टोटनह्याम फराकिलो जीत तर्फ अग्रसर भयो । ७७औं मिनेटमा सनले व्यक्तिगत दोस्रो गोल गर्दा अन्ततः टोटनह्याम ४–० को जित निकाल्न सफल भयो । जितसँगै टोटनह्यामले २ खेलबाट ४ अंक बनाएको छ । एभर्टनको भने यो लगातार दोस्रो हार हो ।
सिटीको जितमा हालान्डको ह्याट्रिक
इंग्लिस प्रिमियर लिगकै अर्को खेलमा म्यानचेस्टर सिटीले इपिस्वीप टाउनलाई ४–१ गोल अन्तरको पुनरागमन जित निकालेको थियो । १ गोलले पछि परेको सिटीलाई स्टार खेलार्डी एर्लिङ हालान्डले ह्याट्रिक गर्दै उद्दार गरेका थिए ।
सातौं मिनेटमा स्यामुएल सेजमोडिकले गोल गर्दै इपिस्वीपलाई अग्रता दिलाएका थिए । १२औं मिनेटमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई बराबरीका साथ खेलमा फर्काए । केभिन डी ब्रुएनाले १४औं मिनेटमा गोल गरेपछि सिटी २–१ ले अघि बढेको थियो ।
१६औं मिनेटमा ब्रुएनाको पासमा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले सुरुमै ३–१ को अग्रता लिन सफल भयो । हालान्डले ८८औं मिनेटमा ह्याट्रिक पूरा गर्दा सिटी अन्ततः ४–१ गोल अन्तरको जित निकाल्न सफल भयो । यो सिजनमा सिटीको लगातार दोस्रो जित हो । यसैसिजन प्रिमियर लिग खेलिरहेको इपिस्वीप टाउनको भने लगातार दोस्रो हार हो ।









प्रतिक्रिया