
काठमाडौं, ७ भदौ । काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिपअन्तर्गत आज समूह ‘बी’अन्तर्गत भारत र माल्दिभ्स खेल्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि सुरु हुँदैछ ।
जारी प्रतियोगितामा भारतले एक खेल जितेको छ भने आजको खेल कम्तिमा बराबरी खेलेमा पनि सेमिफाइनलमा पुग्ने छ । त्यस्तै, माल्दिभ्सलाई भने पहिलो खेलमा हार बेहोरेको हुनाले सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । समूह ‘बी’मा एक खेल जितेर भुटान पनि सेमिफाइनलको दौडमा रहेको छ ।
प्रतियोगितामा समूह ‘ए’बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ । समूह ‘ए’मा नेपालले दुवै खेल जितेर समूह विजेता बनेको छ भने बंगलादेश उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ ।
नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा समूह ‘ए’मा नेपाल, बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह ‘बी’मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।
आजको खेल पछि सेमिफाइनलको समीकरण पूरा हुनेछ । सेमिफाइनलका खेल आइतबार र सोमबार हुने छन् भने फाइनल खेल आगामी बुधबार हुनेछ ।








प्रतिक्रिया