
काठमाडौं, ६ भदौ । यसैसाता पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘आँखा’को टिजर सार्वजनिक भएको छ । बिहीबार ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।
सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जौन योञ्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिस गर्नुभएको छ । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रष्टिन्छ ।
पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को ‘आँखा’ टिजरले दिन्छ ।
लेखक तथा निर्देशक योञ्जनले काठमाडौं महानगरका प्रमुख बालेन शाहले उठाइरहेको सुकुम्बासी व्यवस्थापनको मुद्दा र त्यसमा उत्पन्न भइरहेको परिस्थितिलाई कथावस्तु बनाएको भान हुन्छ ।
फिल्मको प्रमुख अभिनयमा रहेका प्रायः कलाकारहरूलाई टिजरमा स्थान दिइएको छ । फिल्ममा कलाकारहरू स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा हुनुहुन्छ । बाल कलाकारको भूमिकामा प्रसन राई हुनहुन्छ ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । निर्देशक योञ्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योञ्जन नै हुनुहुन्छ भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर हुनुहन्छ । सहनिर्मातामा रेनुका कार्की ढोली हुनुहुन्छ ।
फिल्ममा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ । आलोक शुक्लाको छायांकन रहेको फिल्म ‘आँखा’मा संगीत दिपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व संगीत गंगा थापाको र ध्वनी मुद्रण किशोर आचार्यको छ ।









प्रतिक्रिया