
काठमाडौं, ६ भदौ । जर्मनीका भेट्रान गोलकिपर म्यानुअल नेउरले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् ।
युरोकपपछि सन्यास लिने नेउर जर्मनीको चौथो खेलाडी हुन् । यसअघि अघिल्लो महिना सम्पन्न युरोकपपछि थोमस मुलर, टोनी क्रुज र इल्के गुण्डोगनले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।
बुधबार एक भिडियो सन्देस जारी गर्दै नेउरले यो निर्णय गर्न आफूलाई निकै मुस्किल भएको बताउँदै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
उनले २०२६ को फिफा विश्वकपका लागि आफू खेल्ने विचार गरेको भएपनि आफूले यो नै सही समय भएको ठानेर सन्यास लिएको बताएका छन् । उनले अब आफू बायर्न म्युनिखका लागि केन्द्रीत हुने बताएका छन् । आफू २०२३ सम्म जर्मनीको कप्तानी गर्न पाएकोमा सम्मानित महसुस गरेको उनले बताए ।
नेउर जर्मनीले २०१४ को विश्वकप जित्दाका महत्वपूर्ण सदस्य थिए । ३८ वर्षीय नेउरले जर्मनीका लागि २००९ मा डेब्यू गरेर अहिलेसम्म १२४ खेल खेलेका छन् ।









प्रतिक्रिया