
काठमाडौं, ५ भदौ । एक्सन तथा सोसल ड्रामामा बन्ने फिल्म ‘नरसिंहाः अवतार’मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्मका लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् ।
कलाकाको लाइनअपमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिनुभएको छ । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो । निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गर्नुभएको थियो । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि फिल्मको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जनाकारी गराउनुभयो ।
यसअघि यो फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित हुनुभएको छ । निर्माणपक्षले यो फिल्ममा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा पनि केही खुलाइएको छैनन् ।
यही फिल्मबाट ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दै हुनुहुन्छ । आठ वर्षभन्दा धेरै समयपछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उहाँसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतिक्षित बन्ने निश्चित छ ।
यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लाग्नुभएको छ भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लाग्नुभएको छ । उहाँहरुले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गर्नभएको थियो ।








प्रतिक्रिया