२४ असार २०८३, बुधबार

चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी, राजेश थापाले ल्याए दीर्घकालीन योजना

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । भुवन केसीले आफ्नो कार्यकाल पूरा गरेसँगै चलचित्र विकास बोर्ड अध्यक्षमा रस्साकस्सी सुरु भएको छ । एक अध्यक्ष पदका लागि ६ जनाले आवेदन दिइसकेका छन् । तर आवेदन दिएकाहरूको योग्यता पुगे वा नपुगेको परीक्षण गर्ने काम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरु गरेको छ ।

मन्त्रालयले साउन १६ गते सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरे बमोजिम फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलको आवेदन परेको छ ।

आवेदकहरुको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक भएपछि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

अध्यक्ष पदमा आवेदकहरु सबैले आफूलाई अब्बल ठानेका छन् । त्यसमध्येका राजेश थापाले आफूविरुद्ध गलत प्रचार भइरहेकोप्रति आपत्ति प्रकट गर्नुभएको छ । उहाँले आफूलाई चलचित्र क्षेत्रको नभइ सांस्कृतिक संस्थानको मात्र भनेर खुम्च्याइएकोप्रति दुःखेसो पोख्नुभयो ।

‘म चलचित्र बलिदानको प्रडक्सनको क्षेत्रबाट चलचित्र क्षेत्रमा आएको हुँ । प्रडक्सन म्यानेजरका रुपमा आएका हुँ । पछि ‘सहयात्री’को प्रडक्सनका क्रममा क्यामेरातर्फ आएँ, त्यसैबेला अर्थात २०५८ सालमा ‘यङ्गेस हिरो अफ हिमालय’को परिकल्पना र निर्माण मैले आफैले गरेको हुँ । आभाषबाट क्यामेराको तालिम लिएर काम थप तिब्र रुपमा अघि बढाएको हुँ, त्यसैबेला डेढ बर्षजति नेपाल टेलिभिजनमा एक कार्यक्रमको निर्देशन एवम छायांकनको काम गर्दै अनुभव बटुल्न थालेको हुँ ।’ उहाँले भन्नुभयो, ‘विशेषगरी मेरो क्षेत्र भनेको निर्देशन हो, ओस्कार कलेजबाट पढाई गर्दापनि प्रशस्त काम गर्दै आएको छु ।’

जेबी टुहुरे, तुलसीलाल अमात्य, मदनकृष्ण श्रेष्ठ, खुशीराम पाख्रिनलगायतका व्यक्तिहरुको वृत्तचित्र निर्माण गरिरहनुभएका थापाले नेपाली चलचित्र क्षेत्रमा प्रशस्त काम गर्न बाँकी रहेको सुनाउनुहुन्छ । ‘नेपाली चलचित्रले अझैपनि नेपाली समाजको प्रतिविम्वित गर्न सकेको छैन्, मौलिक चलचित्र निर्माण र प्रवद्र्धनमा कमी आएको छ । यसमा मेरो विशेष ध्यान हुनेछ । विदेशमा नेपाली चलचित्रको बजार विस्तार गर्न, वैदेशिक लगानी भित्राउन, श्रमजीवि चलचित्रकर्मीहरुको हक अधिकारको संरक्षण र उनीहरुको जीवनयापनको ग्यारेन्टी गर्न मेरो प्राथमिकतामा छ ।’ उहाँले योजना सुनाउनुभयो ।

सत्ता साझेदार दल एमालेसँग राम्रो सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सरकारले अगाडि सारेका ड्रिम प्रोजेक्ट फिल्म सिटी निर्माण, काभ्रेमा स्टूडियो निर्माण साथै सातवटै प्रदेशमा चलचित्र नगरी स्थापनामा आफ्नो जोड रहने योजना सुनाउँदै भन्नुभयो, ‘चलचित्र ऐन धेरै पुरानो रहेकाले समयानुकुल ऐन ल्याउन सक्षम छु जस्तो लाग्छ ।’

तीन दशकदेखि चलचित्र क्षेत्रकै पृष्ठभूमिमा रहेर काम गरेको अनुभव संगालेका थापाले चलचित्र क्षेत्रलाई समय सापेक्षित रुपमा परिवर्तन गर्न सक्षम उम्मेदवार आफू रहेको दाबीसमेत गर्नुभयो । कलाकारहरुको शेक्षिक गुणस्तर वृद्धि गराउन, अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन आफूले भरपुर काम गर्ने बताउनुभयो ।

विराटनगरका थापा हाल भ्यूजल एन्थ्रोपोलोजीमा विद्यावारिधीको तयारी गरिरहेको र लामो समयदेखि चलचित्र क्षेत्रको अध्ययन अनुसन्धान पनि गरिरहेकाले विकास बोर्डमा बसेर काम गर्न आफूलाई असहज नहुने बताउनुहुन्छ ।