१८ असार २०८३, बिहिबार

राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन दलको ध्यान केन्द्रित हुनुपर्छ : शंकर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशमा देखिएको राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउन राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश समन्वय संयन्त्रको पहिलो बैठकलाई बिहीबार पार्टीको वाग्मती प्रदेश कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक स्थिरता बिना देशमा विकास र समृद्धि सम्भव नभएको बताउनुभयो । देशमा राजनीतिक अस्थिरता मच्चाएर लाभ लिन चाहने शक्तिहरूले टाउको उठाउन खोजेका कारण दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका उहाँले बताउनुभयो ।

अहिलेको सत्ता समीकरण स्थायित्व, स्थिरता र विकासको लागि भएको उहाँले बताउनुभयो । पोखरेलले पार्टीको अबको ध्यान बलिया राजनीतिक शक्ति निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । यसको लागि पार्टीको वैचारिक र सांगठनिक कामलाई अघि बढाउनु पर्ने उहाँले बताउनुभयो ।

पोखरेलले विकास निर्माणको काम र संगठन निर्माणको कामलाई जोडेर अगाडि बढाउनु पर्ने बताउनुभयो । राजनीतिमा नजोडिएको विकास निर्माणको कामले मात्रै संगठन सुदृढ नहुने उहाँले प्रष्ट पार्नुभयो । पार्टीमा युवाहरूलाई संगठित र आकर्षित गराउन नसके जीवन्त पार्टी नबन्ने पनि उहाँले बताउनुभयो । युवालाई पार्टीमा जोड्न आकर्षक कार्यक्रम र योजना सहित जानु पर्ने उहाँको धारणा छ ।

पोखरेलले नेकपा एमालेका सबै जनसंगठनलाई चलायमान बनाउन पनि निर्देशन दिनुभयो । जसनंगठनहरु पार्टीका जग भएकाले तिनीहरूलाई चलायमान गराउनुपर्ने उहाँले बताउनुभयो । सहरिया मध्यम वर्गमा अस्थिरता र विचलन आएकोले त्यसलाई स्थिर बनाउनको लागि पार्टी संगठन लाग्नु पर्ने उहाँले बताउनुभयो । मध्यमवर्गमा एक खालको निराशा बढेको भन्दै उहाँले त्यसलाई आशामा परिणत गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले वाग्मती प्रदेश कमिटी इञ्चार्ज एवं पार्टी स्थायी कमिटी सदस्य डा। राजन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी वाग्मती प्रदेश स्थिति जिल्ला कमिटी इञ्चार्ज, प्रदेश कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार प्रसार विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो । बैठकमा सहभागिता सदस्यहरूले पार्टीभित्र रहेको समस्या र समाधानका उपायका बारेमा आफ्ना धारणा राख्नु भएको थियो ।