शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

गठबन्धनबारे गगनको मत यथावत्, खड्काको प्रतिवेदन सच्चाइयो

दैनिक नेपाल २०८१ साउन २५ गते ७:०९

काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा पेस गरेको प्रतिवेदन परिमार्जन नगरी केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ । बुधबारबाट सुरु भएको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गत फागुनमा भएको महासमिति बैठकबाट प्राप्त तीन प्रतिवेदनलाई पेस गरिएको हो, आजको राजधानी दैनिकमा खबर छ ।

केन्द्रीय कार्यसमिति बैठकको पहिलो नम्बरमा रहेको कार्यसूचीनुसार उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन परिमार्जनसहित बाँडिएको छ भने महामन्त्री थापाको प्रतिवेदन भने संशोधन नगरी पेस भएको छ ।

उपसभापति पूर्णबहादुर खड्काको प्रतिवेदनमा उल्लेख भएको माओवादी जनयुद्धको विषयमा परिमार्जन गरेर केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको छ । उपसभापति खड्काले महासमिति बैठकमा पेस गरेको प्रतिवेदनमा माओवादीले ‘कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरु भयो, सशस्त्र द्वन्द्वका नाममा मुलुक फेरि अर्को दलदलमा फस्यो, विकास र समृद्धिको त्यो यात्रा अवरुद्ध भयो, ध्वंश विध्वंशहरू भए, विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो, यति धेरै क्षति हुनेगरी यो विध्वंशको आवश्यकता थिएन,’ भनी उल्लेख गरेका थिए । सोही भाषालाई परिमार्जन गर्दै केन्द्रीय कार्यसमिति बैठकमा भने ‘सशस्त्र हिंसाको राजनीति सुरु भयो, सशस्त्र द्वन्द्वका नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो, विकास र समृद्धिको त्यो यात्रा अवरुद्ध भयो, सशस्त्र द्वन्द्वका कारणले विकासका कतिपय संरचना तथा योजनाहरू तहसनहस भए’ शब्द उल्लेख गरेर प्रतिवेदन पेस गरिएको छ ।

निर्वाचनअघि गठबन्धन गर्न नहुने भन्दै नेपाली कांग्रेसका महामन्त्री थापाले नेपाली कांग्रेसको महासमिति बैठकमा राखेको मत परिमार्जन नगरी केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरिएको छ । थापाले राखेको चुनावी गठबन्धन गर्न नहुने मत भने यथावतै रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए । महामन्त्री थापाले गत महासमिति बैठकमा पेस गरेको प्रतिवेदनमा चुनावी गठबन्धन गर्न नहुने उल्लेख छ ।

‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुन सक्छ,’ थापाको प्रतिवेदनमा भनिएको छ, ‘तर, निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ– हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रूख’मै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

प्रतिक्रिया
सम्बन्धित