३० आश्विन २०८३, शुक्रबार

यस्तो छ प्रधानमन्त्री ओलीले अभिनय गर्नुभएको फिल्म ‘नमेटिने घाउ’को ट्रेलर

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । अभिनेता रमित ढुंगानाको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘नमेटिने घाउ’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा एसिड आक्रमणका पीडितको पीडा र संघर्षलाई मर्मस्पर्शी रुपमा देखाइएको छ ।

सार्वजनिक ट्रेलरमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई न्याय दिने प्रतिबद्धता जनाएको दृश्य समावेश छ । ट्रेलरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल र सांसद ज्ञानेन्द्र शाहीले एसिड पीडितको आन्दोलनमा एक्यबद्धता जनाउँदै ‘एसिड आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउँछौँ’ भन्ने संवाद समावेश छ ।

कार्यक्रममा एसिड सर्भाइभरहरु मुस्कान खातुन,जेनी खड्का, रामराजा थापाको उपस्थिति रहेको थियो ।

एसिड आक्रमणमा पर्नुभएकी मुस्कान खातुनले आफूले पाएको जस्तो दुःख पीडा अरुलाई नपरोस् भन्नको लागि यस चलचित्रले समाजमा राम्रो सन्देश दिने बताउनुभयो । अर्की पीडित जेनी खड्काले हामीलाई समाजले हेर्ने नजर नै फरक भएको हुँदा यस्तो नगर्न अनुरोध गर्नुभयो ।

यता चलचित्रका निर्देशक रमित ढुंगानाले आफूले यो चलचित्र निर्माण गरेर अरु थप कोही एसिड आक्रमणको शिकार बन्न नपरोस् भनेर निर्माण गरेको बताउनुभयो । चलचित्र निर्माण गर्दा कति पैसा खर्च भयो भन्दा पनि आत्मसन्तुष्टी मिलेको ढुंगानाले बताउनुभयो । निर्माता ढुंगानाले ‘नमेटिने घाउ’ निर्माण गर्नुको फरक उदेश्य रहेको तथा चलचित्रले समाजमा सन्देश प्रवाह गर्ने विश्वास गर्नुभयो ।

चलचित्रले नेपालमा एसिड बिक्री-वितरण गर्न प्रतिबन्ध लगाउनुपर्ने आवाज सशक्त रुपमा उठाएको छ । चलचित्र भदौ ७ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभरहरुको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । चलचित्रमा शिवम् अधिकारीको कथा रहेको छ । लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर लेख्नुभएको हो ।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, अपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, विशाल देवकोटा, आरजु अधिकारी, आरजु लेखकलगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनिल कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।

चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिह राणा र कुमुद ढुंगेल, प्रहरी निरीक्षक जे,आर शर्मालगायत दुई सय भन्दा बढी प्रहरीको अभिनय रहेको छ ।

रमित ढुंगना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन,ओम सुनारको संगीत र किरण दाहालको एक्सन रहेको छ ।