शुक्रबार, ४ असोज २०८१
DainikNepal.com
शुक्रबार, ४ असोज २०८१

अमेरिकाको ५० राज्यसहित ७ महादेशमा गल्फ खेलेका विनोद थापाले निकाले पुस्तक

दैनिक नेपाल २०८१ साउन २३ गते १६:४०

–विजय थापा/अमेरिका, २३ साउन । अमेरिकाको ५० वटा राज्यका राजधानी, ७ वटा महादेशसहित विश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा पुगी गल्फ खेल्नुभएका डिसी महानगर क्षेत्रका विनोद (बेन) थापाले मेरो गल्फ यात्रा नामक पुस्तक प्रकाशित गर्नुभएको छ । जसलाई उहाँले माई गल्फ जर्नी नाम दिनुभएको छ ।

काठमाडौं बालुवाटार निवासी थापा करिब साढे तीन दशक अगाडि अमेरिका आउनुभएको हो । अमेरिकामै आई उच्च शिक्षा हासिल गर्नुभएका उहाँ सूचना प्रविधि (आईटी)का दक्ष व्यक्ति हुनुहुन्छ । उहाँ अमेरिकाकै प्रतिष्ठित प्रतिष्ठान (कम्पनी)मा उच्च ओहदामा कार्यरत हुनुहुन्छ ।

विश्वका ७ महादेश, अमेरिकाको ५० वटै राज्यका राजधानी तथा विश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरुमा गल्फ खेल्ने उहाँ सम्भवत विश्व कै पहिलो गल्फ खेलाडी हुनुहुन्छ ।

सन् १९८९ मा अमेरिका आउनुभएका उहाँ मातृभूमिलाई औधी माया गर्नुहुन्छ । त्यसैले हरेक वर्ष दशैं मनाउन नेपाल पुग्नुहुन्छ । उहाँलाई अन्य खेलप्रति त्यतिकै रुचि पनि छ । नेपालमा किशोर अवस्था हुँदा उहाँको मन पर्ने खेल बक्सिङ थियो । खेल ज्यादै मन पराउने हुँदा स्वयम् बक्सर हुन पनि भ्याउनुभयो । प्रतियोगितामा भाग पनि लिनुभयो तर त्यसलाई स्थायी बनाउनुभएन ।

अमेरिका आएको ४ वर्षपछि उहाँको गल्फ खेलमा रुचि बढ्यो जुन उहाँले पुस्तकको प्रारम्भमा मेरो गल्फ यात्रामा उल्लेख गर्नुभएको छ । त्यसपछि थापाले पछाडि कहिले हेर्नुभएन । उहाँ अविरल रुपमा गल्फ खेलमा लागेको लागै गर्नुभयो । परिणाम स्वरुप उहाँ अहिले डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको साउथ राइडिङ्ग शहरमा हुने प्रतियोगितामा धेरै पटक विजेता हुनुभएको छ ।

उहाँ साउथ राइडिङ्ग गल्फ क्लबका सदस्यको साथै यस क्लबका अत्यन्तै क्रियाशील सदस्य पनि हुनुहुन्छ । उहाँले नै ९ वर्ष अगाडि त्यस क्लबमा आयोजना हुने फ्राईडे नाइट लिग ल्याएर अहिलेसम्म निरन्तर सञ्चालन गरिरहनुभएको छ ।

उहाँ यसरी अमेरिकाको ५० वटा राज्यका राजधानी, ७ वटा महादेशसहित विश्वका ३० वटा भन्दा ज्यादा देशहरुमा खेल खेल्ने नेपाली मूलका सम्भवतः पहिलो नेपाली अमेरिकी हुनुहुन्छ । विश्वका ७ महादेश, अमेरिकाको ५० वटै राज्यका राजधानी तथा विश्वका ४५ वटा देश भ्रमण मध्ये ३१ वटा देशहरुमा गल्फ खेल्ने उहाँ सम्भवतः विश्व कै पहिलो गल्फ खेलाडी हुनुहुन्छ ।

उहाँको अद्वितीय र अद्भुत गल्फ यात्राले उहाँलाई विश्व किर्तिमानीमा मात्र सीमित नगराई उहाँलाई अझ उचाईमा पुर्‍याउन सक्नेछ ।

पुस्तक अहिले एमाजोनमा बिक्रीको लागि अग्रिम रुपमा खरिद गर्न सकिने छ । उहाँको माई गल्फ जर्नी (मेरो गल्फ यात्रा)को मूल्य २९ डलर ९९ सेन्ट राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित