२४ असार २०८३, बुधबार

मच्छेगाउँमा भदौ १४ र १५ गते राष्ट्रिय लाखे नाच महोत्सव

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । यसवर्षको राष्ट्रिय लाखे नाच महोत्सव भदौ १४ र १५ मा गरिने भएको छ । नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँले चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँमा हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रिय लाखे नाच प्रदर्शनी बारे सोमबार थानकोटमा पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिएको हो ।

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख अथित्यतामा आयोजित कार्यक्रममा उपमेयर बसन्ती श्रेष्ठ, विभिन्न वडाका वडाध्यक्षहरू,जनप्रतिनिधिहरू एवं नेपाल सांस्कृतिक कला मन्दिरका सल्लाहकारहरु कृष्णभगत श्रेष्ठ, वीरकृष्ण शाही, बुद्धरत्न श्रेष्ठ, बलराम थापालगायतले संयुक्त रुपमा लाखे नाच महोत्सवको ब्यानर सार्वजनिक गर्नुभयो । योसँगै महोत्सवको औपचारिक प्रचारप्रसार सुरु भएको बताइएको छ ।

मेयर गिरीले चन्द्रागिरि नगरमा आयोजना हुँदै आएको लाखे नाच प्रदर्शनीले देशभरका नेवार समुदायको कला संस्कृति एकै स्थानमा देख्न, हेर्न पाइनुका साथै यसले संस्कृति जगर्नेमासमेत ठूलो टेवा पुर्‍याएको धारणा राख्नुभयो । उहाँले युवा पुस्तामा पनि आफ्नो संस्कृति, परम्परा र मौलिकता उजागर गर्न यो महोत्सवले ठूलो सन्देश दिएको बताउनुभयो ।

आयोजक संस्था नेपाल सांस्कृतिक कला मन्दिरका अध्यक्ष रमेश शाहीले गत वर्ष ६० भन्दा धेरै लाखे नाच प्रदर्शनी भएको स्मरण गर्दै यसपाली ४५ जिल्लाबाट सहभागीता हुने दाबी गर्नुभयो ।

यसपटकको प्रदर्शनीको नारा ‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौँ’ राखिएको छ । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवा जमातलाई आफ्नो मौलिक कला संस्कृति र पहिचानको बारेमा अवगत गराई उनीहरुलाई प्रत्यक्ष अनुभव गराउनु नै प्रदर्शनीको मुख्य उदेश्य रहेको आयोजक संस्थाले जनाएको छ ।