२५ असार २०८३, बिहिबार

पुष्पलाल लोकमार्गको अनावश्यक घुमाउरो हटाउन प्रधानमन्त्रीको निर्देशन

9.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी पुष्पलाल लोकमार्गको ठाउँ-ठाउँमा बाटो परिवर्तन गर्न निर्देशन दिनुभएको छ ।

आइतबार साँझ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले पुष्पलाल लोकमार्गको रामेछापमा अनावश्यक रूपमा बाटो घुमाइएकोले त्यसलाई सोझै निकाल्नु पर्ने बताउनुभयो । ‘बाटाको एलाइनमेन्ट चेञ्ज गर्न जरुरी छ केही ठाउँमा, अनावश्यक ठाउँमा खर्च भएको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले रामेछापको वारी बीपी मार्ग र पारी पुष्पलाल मार्ग गरेर दुई वटा मार्ग सँगसँगै खनिएको भन्दै त्यो काम आवश्यकताको आधारमा नभएको बताउनुभयो । सडक खोलाको सुन्दरताको लागि वा आवश्यकता भएर खनेको ? भन्दै ओलीले प्रश्न गर्नुभयो । खोला आफैमा सुन्दर हुने भएकोले खोलाको सुन्दरताको लागि सडक खन्नु नपर्ने उहाँले बताउनुभयो ।

मानववस्ती जहाँ छ र छोटो ढङ्गले जहाँ सडक लैजान सकिन्छ त्यहाँबाट सडक खन्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । त्यो आजका लागि मात्र नभएर एक सय वर्ष पछिका लागि पनि गरिएको काम भएकोले त्यो बाटो छोट्याउन उहाँले निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले काभ्रेबाट चौँरीखोला झरेको सडक नेपालथोकको वारी घुमाएर नभई सोझै दोरम्बाबाट गाल्पा निकालेर मन्थली झार्न सुझाव दिनुभयो । ‘माथि दोरम्बातिर शैलुङको तलबाट मन्थलीबाट आउँदा कहाँबाट पर्छ सोझो त्यतैबाट स्वाट्ट निकाल्दा बाटो छोटो पनि पर्छ, बाटो अनावश्यक रूपमा घुमाएको देख्दा ताजुब लाग्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

ओलीले यस्तो काम गर्दा कुनै राजनीतिक दबाबमा नपर्न पनि आग्रह गर्नुभयो । नेताको गाउँ त्यहाँ पर्‍यो, नेताको घर त्यहाँ पर्‍यो भनेर बाटो नघुमाउन उहाँले निर्देशन दिनुभयो । नेताको प्रेसरमा होइन जहाँबाट बढी जनसंख्याले लाभ लिन्छ बाटो त्यहीँबाट लैजान उहाँले स्पष्ट निर्देशन दिनुभयो । ‘त्यो नेता हिँड्ने बाटो हो ? गाडी हिँड्ने बाटो होइन ?’ ओलीले प्रश्न गर्नुभयो ।

ओलीले प्राविधिक हिसाबले जताबाट जे गर्नुपर्छ त्यही काम ढुक्क भएर गर्न आग्रह गर्नुभयो । त्यस्तो प्रेसर आए त्यसको सामना आफूले गर्ने ओलीले विश्वास दिलाउनुभयो । बाटो छोटिने र दुर्घटनाको सम्भावना कम हुने तथा बढी भन्दा बढी जनताले लाभ लिने गरी बाटोको एलाइनमेन्ट अघि बढाउन उहाँले आग्रह गर्नुभयो । ‘पुष्पलाल हाइवेको एलाइनमेन्ट चेञ्ज गर्नै पर्छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।