१५ असार २०८३, सोमबार

गण्डकीमा मन्त्रालयको संख्या नबढाउने एमाले अडान कायमै

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १९ साउन । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारमा एमालेको सहभागिताका विषयमा छलफल भइरहेको बताउनुभएको छ ।

शनिबार पोखरामा नेपाल बुद्धिजीवी परिषद् गण्डकी प्रदेश कमिटीद्वारा प्रकाशित स्मारिका ‘गण्डकी दर्पण’को विमोचन समारोहमा बोल्दै अधिकारीले मन्त्रालयको संख्यालगायतका विषयमा कुरा मिल्न बाँकी रहेको बताउनुभयो । एमालेले मन्त्रालयको संख्या ७ वटाबाट बढाउन नहुने अडानमा कायम रहेको स्पष्ट पार्नुभयो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको जोडबलमा मन्त्रालयको संख्या बढाएर १२ सम्म पुर्‍याउनेमा रहेको देखिएको उहाँको संकेत थियो ।

केन्द्रीय गठबन्धन परिवर्तन भएको एक महिना बित्दासमेत गण्डकी प्रदेशमा एमाले सरकारमा सहभागिता नभएको विषयमा चासो बढिरहेको समयमा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतासमेत रहनुभएका अधिकारीले संवाद भने भइरहेको खुलाउनुभएको हो ।

अर्को प्रसङ्गमा अधिकारीले अब सरकार राष्ट्रिय पुँजी निर्माण गर्ने भावना र योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामै देश अगाडि बढे देशको अर्थतन्त्र दुर्घटनामा पर्ने भएकोले राष्ट्रिय पुँजी निर्माण आवश्यक पर्ने उहाँको भनाई थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण भएपछि देशको अर्थतन्त्रमा सकारात्मक सन्देश देखिएकोले नयाँ आशाको सञ्चार भने गराएको उहाँको भनाई थियो । एमाले सरकारमा गएपछि शक्ति सञ्चय गर्दै मिसन ०८४ को अभियानलाई पूरा गर्नको लागि सबैले मेहनत गर्नुपर्ने उहाँले बताउनुभयो । ‘सरकारले राम्रो काम गर्नु पर्‍यो, भष्ट्राचार रोक्नु पर्‍यो, हाम्रा मन्त्रीहरू विवादित हुनु भएन’ उहाँले भन्नुभयो । दुई प्रतिस्पर्धीबीचको सहकार्य सानोतिनो चोटमा नहुने भएकोले संयुक्त सरकारका नियममा रहेर उत्कृष्ट कार्य गर्नुपर्ने उहाँको भनाई थियो ।

एमाले अध्यक्ष ओली नेतृत्वमा सरकार निर्माण भएपछि एमालेलाई सिध्याउने योजना बनाएकालाई छटपटी भइरहेको उहाँको दाबी थियो । पार्टी सदस्यता थप्न र टोलटोलमा पार्टी कमिटी पुर्‍याउनको लागि नेता तथा कार्यकर्तालाई खट्न उहाँको आग्रह थियो । ‘०८४ मा वडादेखि पालिका, प्रदेशदेखि राष्ट्रिय सभासम्म हाम्रो बहुमत आउने गरी लाग्नुपर्छ, त्यसो भए मात्र समाजवादतर्फ यात्रामा जान सक्छौँ ।’ उहाँले भन्नुभयो । उहाँले वर्तमान मुख्यमन्त्रीले भने झैँ मन्त्रालयको संख्या बढाउन त्यति सजिलो भने नरहेको दाबी गर्नुभयो ।

कार्यक्रममा प्रादेशिक समृद्धिका लागि योजनाबद्ध विकासका आधार एवं प्राथमिकताहरु सम्बन्धमा परिचर्चासमेत गरिएको थियो । यसको प्रस्तुती गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. श्रीकान्त खतिवडाले राख्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष एवं बागमती प्रदेशका सासंद डा. दिनेशचन्द्र देवकोटाले उत्पादनसँग नजोडिएको शिक्षा प्रणालीका कारण अध्ययनको लागि विदेश जानेको संख्या बढेको बताउनुभयो । देशको विकासमा विभिन्न चुनौतीहरु रहेकोले ती चुनौतीालाई चिर्दै अगाडि बढ्न सक्नुपर्ने उहाँको भनाई थियो ।

नेपाल बुद्धिजीवी परिषद गण्डकीका अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भोजराज दाहाल, सञ्चालन सचिव बाबुराम केसीले गर्नुभएको थियो ।

कमिटीद्वारा प्रकाशित स्मारिका गण्डकी दर्पणको समीक्षा राधाकृष्ण लामिछानेले गरेको कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी र एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीलेसमेत बोल्नुभएको थियो ।